ग्लोबल मनी विक २०२४ : बैंकर्स क्लब तौलिहवाद्धारा वित्तीय सचेतना र्‍याली सम्पन्न


९ चैत्र २०८०, शुक्रबार १९:२१ मा प्रकाशित

चैत्र ९ गते । बैंकर्स क्लब तौलिहवाले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उदेश्य अनुरुप क्लबले सदरमुकाम तौलिहवामा जिल्लाका बिभिन्न बर्गका बैंकका कर्मचारीको सहभागितामा बित्तिय साक्षरता र्याली प्रर्दशन गरेकाे हो ।

‘सिकौं, बचत गरौं र कमाऔं’ भन्ने मूल नारा सहित सदरमुकाममा अवस्थित राष्ट्र बैंकद्धारा बर्गीकृत ‘क’, ‘ख’, ‘ग’ वर्गका १६ वटा र ‘घ’ वर्गका ३ गरि १९ वटा बैंक र वित्तीय तथा लघुवित्त संस्थाका कर्मचारीको संलग्नतामा सचेतना र्याली प्रर्दशन गरिएको बैंकर्स क्लब तौलिहवाका अध्यक्ष नविन बहादुर श्रेष्ठले जानकारी दिए ।

तौलिहवा स्थित जमुवार देखि प्रशासन चोक, नयाँटोल, गौढी चोक हुँदै भिक्षु चोक सम्म विभिन्न सचेतनामूलक प्लेकार्ड र ब्यानर सहित “वित्तीय सचेतना रेली” सम्पन्न गरिएको उनले बताए । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको श्रेष्ठ बताउँछन् ।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँ संस्करण हो । बैकर्स क्लब तौलिहवाका सदस्य एवं कामना सेवा बिकास बैंक तौलिहवाका शाखा प्रबन्धक रामप्रित पालले राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको बताए ।

के हो ग्लोबल मनी वीक ?

ग्लोबल मनी वीक ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । ग्लोबल मनी वीक युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । यो सप्ताह ओइसीडीको संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ ।

ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रबर्द्धन गर्दै वित्तीय शिक्षा अभिवृद्धि गरी वित्तीय समावेशिता प्रबर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

युवाहरुलाई वित्तिय साक्षरताको आधारमा र वित्तिय जागरणको आधारमा संलग्न गराइ पैसा कसरी कमाउने ? कसरी त्यसलाई सदुपयोग गर्ने ? सेभिङमा कसरी कन्भर्ट गर्ने ? सेभिङबाट कसरी त्यसलाई लगानीमा लैजाने ? त्यसबाट उनीहरुले आफ्नो भविष्यलाई सुरक्षित राख्न सक्छ भन्ने अवधारणा सहित उक्त कार्यक्रमको आरम्भ गरिएको हो ।

हेर्नुस् तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्