कपिलवस्तुमा सहजै पाठ्यपुस्तक उपलब्ध : एकैपटक पहिलोपटक सेटमा पुस्तक आए


२५ चैत्र २०८०, आईतवार ११:३८ मा प्रकाशित

चैत्र २५ गते । नयाँ शैक्षिक सत्रका लागि कपिलवस्तुमा पाठ्यपुस्तकहरु सहजै उपलब्ध गराइएको छ । यस वर्ष सहज रुपमा जिल्लामा सामुदायिक तथा निजी विद्यालयका पाठ्यपुस्तक पुगेका छन् । विगतका वर्षमा पुस्तकहरु सेटमा पर्याप्त उपलब्ध नभएकोमा यस वर्ष यहाँका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीसँग पाठ्यपुस्तक आइपुगेको बताइएको छ ।

शैक्षिकसत्रको पूर्वसन्ध्यामा नै पाठ्यपुस्तक आइपुगेको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयको नतिजा प्रकाशन हुनुभन्दा अगाडी नै पुस्तकहरु व्यवसायीलाई उपलब्ध गराएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कपिलवस्तु शाखाका अध्यक्ष अर्जुन चापागाँईले बताए । पहिलो पटक सेटमा एकैपटक पुस्तक आएको उनले जानकारी दिए । बिद्यालयले अर्डर प्रयाप्त भने नगरेको भएतापनि पुस्तकको कमि भने नआउने दाबी देउराली स्टेशनरीका संचालक समेत रहेका चापागाँईले गरे ।

यस वर्ष पुस्तक व्यवसायीहरुको मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रले पुस्तकहरु प्रयाप्त मात्रामा उपलब्ध गराएको छ । विद्यालयहरुले आफ्नो विद्यार्थीको संख्याको आधारमा सूची दिने हो भने पुस्तक व्यवसायीले विद्यालयमा नै पुस्तक पु¥याउन सक्ने उनले बताए । अहिले समयमै पुस्तक छपाई भएको हुँदा सहज रुपमा विद्यार्थीले पुस्तक पाउन सक्ने भन्दै उनले नेपाल सरकारसँगै जनक शिक्षा सामग्री केन्द्रलाई धन्यवाद दिए ।

कपिलवस्तु जिल्लामा माग भएकै ७६ हजार बढि पुस्तक पठाइएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख राम विनय श्रेष्ठले जनाए । केन्द्रको तालिका बमोजिम चैत १३ गतेदेखि पुस्तक वितरण शुरु गरिएको प्रादेशिक कार्यालय प्रमुख श्रेष्ठले बताए ।

यो आर्थिक वर्षको लागि आवश्यक पर्ने १५ लाख ७८ हजार ५ सय थान पुस्तक गोदाममा ल्याइसकेर तालिका बमोजिम बितरण समेत गरिरहेको उनले बताए । प्रादेशिक कार्यालय बुटवलले आफ्ना कार्यक्षेत्र अन्र्तगत रहेका ९ जिल्लामा पाठ्यपुस्तक वितरण गर्ने गर्दछ ।

जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाए अनुसार चैत्र १३ गतेदेखि २८ गतेसम्म वितरण समेत गरिने श्रेष्ठले बताएका छन् । वितरण तालिका अनुसार चैत्र १३ देखि १४ गतेसम्म प्युठान र रोल्पामा वितरण गरिसकिएको छ । चैत्र १५ देखि १६ गतेसम्म अर्घाखाँची, १७ गतेदेखि १८ गतेसम्म गुल्मी, १९ गतेदेखि २० गतेसम्म पाल्पा, २१ गतेदेखि २२ गतेसम्म कपिलवस्तुमा पाठ्यपुस्तक बितरण गरिएको प्रादेशिक कार्यालय जनाएको छ ।

चैत्र २३ गतेदेखि २४ गतेसम्म नवलपरासी (पश्चिम) र चैत्र २५, २६ र २७ गते तीनदिन रुपन्देही जिल्लामा वितरण गरिने योजना रहेको समेत प्रादेशिक कार्यालय बुटवलका प्रमुख श्रेष्ठले जनाए । नयाँ शैक्षिक शत्र शुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुने कार्यालयको भनाई छ । लुम्बिनीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

बुटवल कार्यालयमा ९ जिल्लाका एकसय २१ वटा पुस्तक व्यवसायी मार्फत वितरण गरिने समेत कार्यालयले जनाएको छ । सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायीमार्फत् विद्यालय–विद्यालयमा पु¥याउने गरिएको छ ।

ढुवानी व्यवसायी, पुस्तक विक्रेता र विद्यालयबीचको आर्थिक समस्याले गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन ठूलो संघर्ष गर्नुपर्छ । स्थानीय पालिकाहरुले समयमै भुक्तानी नगर्दा भने सबैपक्षलाई समस्या हुने गरेको छ । कपिलवस्तुका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले यस बर्ष पाठ्यपुस्तक सहजै र समयमै उपलब्ध हुने हुँदा शैक्षिक क्रियाकलापमा प्रभावकारिता आउने बताए । स्थानीय निकायले किताबका लागि रकम निकासामा ढिलाइ गर्दा अधिकांश विक्रेताले किताब समयमा नै ल्याउन समस्या हुने गरेको बताए ।

आंशिक विक्रेताहरुले भने स्थानीय तहले रकम नदिएका कारण आफूहरुले नयाँ किताब ढुवानी गर्न समस्या भएको बताएका छन् । विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको र भर्ना अभियानको समग्र अगुवाइ स्थानीय तहले गरिरहेको घिमिरेले दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्