मेयर थापाको शिक्षा क्रान्ती : ‘निर्देशन लगत्तै ८ शिक्षकले दिए पार्टी सदस्यताबाट राजीनामा’


पालिका पत्र

१३ बैशाख २०८१, बिहीबार १९:३२ मा प्रकाशित

बैशाख १३ गते । विद्यालय सुधारको महाअभियानमा होमिनुभएका शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिक्षकलाई ५ दिन भित्र पार्टीको सदस्यता त्याग गर्न दिएको निर्देशनको एकदिन नबित्दै धमाधम शिक्षकले राजिनामा दिएका छन् ।

नगरपालिका भित्रका विद्यालयमा कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता दिएको भए ५ दिन भित्र सम्बन्धित दल त्यागेको जानकारी पालिकामा गराउन नगर प्रमुख थापाले निर्देशन दिनुभएको थियो ।

निर्देशन दिएकै दिन नगरपालिकाका ८ जना शिक्षकले नगरपालिका समक्ष राजनैतिक दलबाट राजीनामा दिएका नगरपालिकाले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रानुसार शिवराजमा कार्यान्वयन गराउन नगर प्रमुख थापा लागि पर्नुभएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक कार्यमा संलग्न हुने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिदैँ आउनुभएको छ । सोही चेतावनी अनुसार मन्त्रालयले देशभरका पालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारीणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएमा शिक्षा ऐन २०२८ को दफा ङ को उपदफा ५ को खण्ड छ मा रहेको कानूनी प्रावधान कार्यान्वयनको लागि निर्देशन जारी गरेको हो ।

शिवराज नगरपालिकाका नगर प्रमुख थापा उक्त निर्देशन कार्यान्वयनका लागि अगाडि बढ्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्