संघीय बजेटको उपेक्षामा कपिलवस्तु !


पालिका पत्र

१६ जेष्ठ २०८१, बुधबार ०८:५७ मा प्रकाशित

जेठ १६ गते । मंगलबार दिउँसो ३ बजे नेपाल सरकारका अर्थमन्त्री बर्षमान पुनले झण्डै २ घण्टाभन्दा लामो समय लगाएर संघीय बजेट सार्वजनिक गरे । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा कपिलवस्तुलाई समेटिने गरी खासै कार्यक्रम आउन सकेन ।

यहाँका पुरातात्विक स्थल, पर्यटकीय स्थल, धार्मिक स्थल, सडक होस् वा पर्यटकीय मार्ग कुनै पनि विषयलाई समेटिने गरी ठोस बजेट विनियोजन नगरिएको स्थानीयको गुनासो छ ।

वर्षौंदेखि समावेश गरिएको बुद्ध परिपथ बजेटमा समावेश गरिए पनि हालसम्म कपिलवस्तुमा यस्को कार्य शून्य देखिएको छ । तोकिएर खासै बजेट विनियोजित समेत नहुने गरेको पाइन्छ ।

अर्को, लुम्बिनी प्रदेशको मुख्य पर्यटकीय गन्तब्य जगदीशपुर ताल र बिश्व सम्पदा सूचीमा सुचीकृतोन्मूख अवस्थामा रहेको तिलौराकोट, लगायत सयौं पुरातात्विक महत्वको खुल्ला संग्रहालयका रुपमा रहेको जिल्लामा यथेष्ट बजेट र योजना सरकार सँग छैन् ।

नेपालकै खुल्ला संग्रहालय, चराको राजधानी, पुरातात्विक क्षेत्रको प्रचुरता र बिभिन्न रणनैतिक गन्तब्यका रुपमा रहेको कपिलवस्तुलाई संघीय सरकारले बर्षेनी उपेक्षा गर्ने गरेको यहाँका नागरिक बताउँछन् । यसले कपिलवस्तुलाई राज्यले सधैँ उपेक्षित गरेको बुझिने होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका निर्वतमान अध्यक्ष गोपाल खत्री बताउँछन् ।

जिल्लाबाट लगातार रुपमा संघीय मन्त्री पाउने क्रम जारी रहेता पनि जिल्लाका नाममा एउटा योजना पार्न नसक्नु दुर्भाग्यपूर्ण अवस्था रहेको खत्रीको बुझाई छ । बजेटमा मायादेवी परिपथ, तिलौराकोट, यहाका सम्पदाहरुको बारेमा लगायत नाम कतै सुनिएन, उनले भने।

बर्सेनि संघीय बजेट सार्वजनिक गरिन्छ तर कपिलवस्तुका कुनै गौरवका योजना कहिले समेटिदैन, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी (दिपु)ले भने । अघिल्लो वर्षको बजेट नारैनारामा सीमित भए पनि यस पटकको बजेटले नीति गत सुधार गर्न खोजेको बताए । उनले भने, यस पटकको बजेट उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नमा फोकस भएको भए पनि कसरी गर्ने भन्ने विषयमा बजेटमा स्पष्टता नआएको बताए । 

बजेटले पर्यटन प्रवर्धनका लागि निकै आकर्षण कार्यक्रम ल्याए पनि बुद्धको भूमि तिलौराकोटलाई उपेक्षित गरेको छ । बिगतका केहि बर्षसम्म तिलौराकोट विकासको लागि केन्द्र सरकारले केही भएपनि बजेटमा सम्बोधन गरेपनि अहिलेको सरकारले सम्बोधन गर्न सकेको छैन् ।

संघीय सरकारका पूर्ववत मन्त्रीमण्डलमा कांग्रेसबाट सुरेन्द्रराज आचार्य थिए भने बर्तमान मन्त्रीमण्डलमा एमालेका बलराम अधिकारी छन् । आचार्य महिला, बालबालिका तथा सहकारी मन्त्री भए, अधिकारी हाल भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रुपमा रहेका छन् । यद्यपि, भूमि, सहकारी र गरिवी निवारणका क्षेत्रमा संघीय बजेटमा कपिलवस्तुका लागि शून्य बजेट छ ।

मन्त्रीकै गृह जिल्लामा बजेट शून्य हुनु अस्वभाविक देखिएको सरोकारवाला बताउँछन् । बर्षेनी संघीय बजेट आउँछ जान्छ तर कपिलवस्तु र कपिलवस्तुवासीको लागि कुनै गौरवको योजना समेटिने गरी ठूलो बजेट सरकारले छुट्याउन सकेको छैन र कन्जुस्याइँ गरेको स्थानीयको गुनासो छ

प्रतिक्रिया दिनुहोस्