“दोहोरो नागरिकताको खेल ? राजदूत सिफारिसमा परेका अबु सुफयानमाथि गम्भीर आरोप !”

"कूटनीतिक जगतमा हलचल: साउदी राजदूतको सिफारिसमा नागरिकता प्रश्न!"


पालिका पत्र

१६ श्रावण २०८१, बुधबार २१:४२ मा प्रकाशित

साउन १६ । नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ। पूर्व सरकारद्वारा साउदी अरेबियाका लागि राजदूत सिफारिस गरिएका अबु सुफयान खान मुसलमानको नेपाली नागरिकतामाथि प्रश्न उठेको छ। कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको एक उजुरीले यो विवादलाई सतहमा ल्याएको हो।

पूर्ववर्ती सरकारका पालामा राजदूत सिफारिस भएका अबु सुफयान खान मुसलमान नेपाली नागरिक नभएको जिकिर सहित उजुरी परेको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रुपन्देहीका जमिरुल्लाह खानले उजुरी दर्ता गराएका हुन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार, भारतीय नागरिक भएको उजुरीपछि अवु सुफयान खानको सक्कली नागरिकता नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । राहदानीको अनुसन्धान भने सम्बन्धित निकायले गरिरहेको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो । उजुरीमा जमिरुल्लाहले उनी भारतीय नागरिक भएको प्रमाणसहित ठेगाना समेत उल्लेख गरेका छन् ।

उजुरीमा महमुदुल हसनका नाती, अबुबकर खानका छोरा, कपिलवस्तुका साविक पतरिया गाविस–१ र हालको शुद्धोदन गाउँपालिका–१ मौजा बकुली भनी झुठा विवरण पेश गरी अबुसुफयानले नेपाली नागरिकता लिएको उल्लेख छ ।

उजुरीमा खानको भारतीय नागरिकताको प्रतिलिपिसमेत पेश गरिएको छ । उजुरीकर्ता खानले तिनको वास्तविक ठेगाना भारतको उत्तर प्रदेश, जिल्लारजनपद सिद्धार्थनगर बडपुर–३ मौजा भैसाही भएको उल्लेख छ ।

उनको भारतीय नागरिकता र आधारकार्ड तथा सन् २०२४ को भारतीय लोकसभा मतदाता नामावलीको सूचीमा नाम रहेको प्रमाणसमेत उजुरीमा पेश गरिएको छ । पञ्चायतको मतदाता नामावलीमा उनको नाम अबु सुफयान र उनका बाबुको नाम अबुबकर भनी उल्लेख छ ।

यस्तै उनको जन्ममिति ३ मार्च १९८१ छ । त्यसैअनुरुप उनको भारतीय निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र पनि पेश गरिएको छ । उनको ई–निर्वाचन फोटो पहिचान पत्र नम्बर एसजीई २०८६३९५ छ ।

नेपाली नागरिकतामा उनका बाबुको नाम अबु बकर खान भनिएको छ । तर, भारतीय मतदाता परिचयपत्रमा भने उनका बाबुको नाम महमुदुल हसन भएको उल्लेख छ । उनको ठेगाना (पता) १९६ सीतापुर पश्चिमी, बर्डपुर–३ नौगढ, सिद्धार्थनगर उत्तर प्रदेश–२७२२०२ उल्लेख छ ।

उनको भारतीय विशिष्ट पहिचान प्राधिकरणले जारी गरेको आधारकार्डसमेत उजुरीमा सामेल छ । जसमा उनको आधार–कार्ड नम्बर २७२२०२ उल्लेख छ । उजुरीकर्ता जमिरुल्लाह खानले अबु सुफयान खानसँग आफ्नो परिचय रहेको र भारतीय नागरिक भन्ने थाहा भएकोमा राजदूत सिफारिश भएपछि प्रमाणसहित उजुरी गरेको बताएका छन् ।

उनले गैरसरकारी संस्थाको कार्यक्रममा परिचय भएका अबुसुफयानसँग चिनजानपछि भारतीय नागरिक भएको र नेपालमा पनि व्यवसाय गर्ने गरेको जानकारी आफूले पाएको उनको भनाई छ ।

“मैले भारतीय नागरिक भएको थाहा पाएको हुनाले पञ्चायतमा गएर मैले नै उनको विवरण ल्याएर उजुरी गरेको छु,” जमिरुल्लाहले भने, “मैले राष्ट्रप्रतिको नागरिक जिम्मेवारी निर्वाह गरेको छु । अब आवश्यक कारबाही गर्ने काम सम्बन्धित निकायको हो ।”

उता अबु सुफयान खान भने आफू पाँच पुस्तादेखि नेपाली नागरिक रहेको भन्दै त्यस्ता उजुरीको कुनै अर्थ नहुने दाबी गर्छन् । “मसँग पाँच पुस्तादेखिको नेपाली नागरिकता छ । कसैले उजुरी गर्दैमा म भारतीय नागरिक हुने होइन,” उनले भने, “भारत त्यस्तो देश हो, जहाँ दुनियाकै सबैभन्दा धेरै अवैध काम हुन्छ । मेरो भनी पेश गरिएका सबै कागजात नक्कली हुन् ।”

भारतीय विशिष्ट पहिचान निगमको परिचयपत्र, रासन कार्ड, मतदाता नामावलीको सूचीमा रहेको नाम सबै नक्कली कसरी हुन सक्छन् भन्ने प्रश्नमा उनले अरु कसैको चाहिएमा पनि आफूले ल्याउन सक्ने दाबी गरे ।

“त्यस्ता कागजात बनाएर यहाँको राष्ट्रपति, प्रधानमन्त्री वा तपाईंको चाहियो भने पनि बनाएर ल्याउन सकिन्छ,” उनले भने, “कसैले नक्कली कागजात बनाएर ल्याउँदैमा कोही भारतीय नागरिक हुँदैन ।”

त्यसबाहेक उनले घुमाउरो पारामा नेपालका धेरै व्यक्तिहरूको भारतीय आधारकार्ड र मतदाता नामावली सूचीमा नाम दाबी पनि गरे । त्यस्तो छानबिन गर्ने हो भने धेरै जना नेताहरूको समेत नेपालको नागरिकता खारेज हुने उनको तर्क छ ।

-बाह्रखरीबाट

प्रतिक्रिया दिनुहोस्