बाणगंगाले १६ दिने अभियानलाई विविध गतिविधिसहित प्रभावकारी बनाउँदै


29 November, 2024 8:26 am मा प्रकाशित

रबिना कडेल, १४ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा तेस्रो नगरस्तरीय खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गरिएको यो प्रतियोगिता लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गरिएको हो।

लैंगिक हिंसाबारे सचेतना अभियान

प्रतियोगिताको उद्घाटन नगरप्रमुख चक्रपाणी अर्यालले गरेका थिए। उनले लैंगिक हिंसा पुरुष, महिला र यौनिक अल्पसंख्यक सबैमाथि हुनसक्ने भएकाले यसबारे गहिरो रूपमा बुझ्न आवश्यक रहेको बताए।

विविध कार्यक्रमसहित १६ दिने अभियान

उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगा नगरपालिकाले अभियानलाई विशेष र प्रभावकारी बनाउँदै आएको बताइन्। उनका अनुसार नगरपालिकाले अन्य पालिकाभन्दा फरक रूपमा १६ दिन नै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

खेलकुदमा महिलाको सहभागिताको प्रतिबद्धता

नगरप्रमुख अर्यालले महिलाको खेलकुद सहभागिता बढाउन नगरपालिकाले ठोस योजना बनाएर काम गरिरहेको बताए। प्रतियोगिताले महिलालाई स्वास्थ्य र खेलकुदप्रति उत्साहित गर्ने अपेक्षा गरिएको छ।

विजेता टोलीलाई आकर्षक पुरस्कार

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीले नगद १०,००० रुपैयाँ, द्धितीयले ८,०००, तृतीयले ६,०००, र सान्त्वना स्थानले ४,००० रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्