रविना कडेल, ०३ पौष । १५औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलको उपाधि बाणगंगा नगरपालिका–१ की प्रिन्सा हमालले जितेकी छिन् । मंगलबार सम्पन्न ग्रान्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि जित्न सफल भएकी हुन् ।
उपाधि जितेसँगै प्रिन्साले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, चाँदीको ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन् । प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी प्रतिस्पर्धीको रुपमा रहेको प्रिन्साको आकर्षक नृत्य शैली र आत्मविश्वासले प्रतियोगिताभर निर्णायक र दर्शकको मन जितेको थियो ।
द्वितीय स्थानमा प्रतिज्ञा गिरीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । तृतीय स्थानमा पवित्रा कुमारी छहारी रहिन्, जसले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर हात पारिन् । सान्त्वना स्थानमा पुगेकी निलम पौडेलले २५ हजार ५ सय २५ रुपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
ग्रान्ड फिनाले अवसरमा स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले आफ्ना सांस्कृतिक प्रस्तुति दिए । यसले उपस्थित दर्शकहरूको मनोरञ्जन मात्र होइन, महोत्सवको माहोललाई झनै उत्साहपूर्ण बनाएको थियो ।
१३औं कपिलवस्तु डान्स आईडलले क्षेत्रीय प्रतिभालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ । आयोजकले प्रतियोगितालाई थप प्रभावकारी बनाउन यस वर्ष विशेष प्रयास गरेको र आगामी वर्षहरूमा अझ भव्य ढंगले आयोजना गर्ने योजना रहेको बताए ।
प्रतियोगिताले युवाहरूलाई नृत्य क्षेत्रमा करियर बनाउने प्रेरणा दिनुका साथै नयाँ अनुभव र अवसरहरूको ढोका खोलेको छ । सहभागीहरूका अनुसार यो प्रतियोगिता उनीहरूका लागि जीवन बदल्ने अवसर बनेको छ ।