घोराही, पौष ०९ । घोराही उपमहानगरपालिकाको १६ औं हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । नगर प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत केही योजना तथा कार्यक्रम संशोधन, रकमान्तर गर्ने प्रस्तावसहित विभिन्न कानुन र नीति पेश गरेका छन् ।
अधिवेशनमा अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन कानुन २०८१, प्लास्टिकजन्य वस्तु प्रतिबन्ध विधेयक २०८१, दिशाजन्य लेदो व्यवस्थापन नीति २०८१, र आर्थिक ऐन २०८१ संशोधन प्रस्ताव पेश गरिएका छन् ।
यस्तै, कर्मचारी संगठन पुनरावलोकन, महालेखा परीक्षकबाट औंल्याइएका बेरुजु फर्छ्यौट प्रक्रिया अघि बढाउने प्रस्तावसमेत सभामा प्रस्तुत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले पालिकाको आर्थिक अवस्थाबारे जानकारी गराउँदै राजस्व संकलनमा सुधार गर्न र पूँजीगत खर्च बढाउने पहल भइरहेको बताए ।
पालिकामा रहेका ४९८ दरबन्दीलाई कटौती गरी ४१५ मा झार्ने योजना छ भने चुस्त आर्थिक गतिविधिका लागि कार्यदल गठन गरिएको छ । नगर सभामा उपप्रमुख हुमा डीसीलगायत नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो ।
नगर सभाको अर्को बैठक पुस १७ गते बिहान ११ बजेका लागि तय गरिएको छ ।