तुलसीपुर, पौष २० ।
तुलसीपुर उपमहानगरपालिकाले १५ हजार बालबालिकाको पोषण अवस्थाको निःशुल्क जाँच गर्न विशेष अभियान सुरु गरेको छ। गैह्रसरकारी संस्था बेसको सहकार्यमा १९ वटै वडाका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए।
पोषण परीक्षणका क्रममा पौष्टिक आहारको कमी भेटिएका बालबालिकाको उपचार उपमहानगरपालिकाले गर्ने योजना रहेको छ। अभियान वडा नम्बर १० बाट सुरु गरिएको हो।
नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक विकासका लागि बालबालिकालाई पौष्टिक आहारको कमी हुन नदिनुपर्ने आवश्यकता औँल्याए। कुपोषणका कारण प्राणघातक रोगले आक्रमण गर्न सक्ने भएकाले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच अभियान सुरु गरिएको उनले बताए।
वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी र स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगायतले पोषण सचेतना र पौष्टिक आहारको महत्त्वबारे चर्चा गरेका थिए।