कपिलवस्तु, माघ ३ गते । घरेलु र लैङ्गिक हिंसा प्रभावित महिला र बालिकालाई आश्रय गृहको सेवा प्रदान गर्दै आएको साथी आवास गृहको स्थायी भवन निर्माणका लागी सहयोग गर्ने दाता राजी राज्यलक्ष्मी राणालाई तौलिहवामा अभिनन्दन गरिएको छ । साथी संस्थाको आयोजनामा तौलिहवामा सम्पन्न कार्यक्रममा आवास गृह निर्माणका लागी जग्गा खरिद र भवन निर्माणार्थ हाल सम्म ५० लाख रुपैया सहयोग गरेकी दाता राणालाई अभिनन्दन तथा सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, साथीकी केन्द्रिय अध्यक्ष सजनी पनेरु अमात्य, संयुक्त राष्ट्रसंघिय सिड कमिटीकी सदस्य तथा साथीकी पुर्व अध्यक्ष बन्दना राणाले दाता राजी राज्यलक्ष्मी राणालाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन । सो अवसरमा निर्माणाधिन भवनको नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको घोषणा गरिएको ताम्रपत्र अनावरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले साथी संस्थाले नेपाल सरकारले नागरिकलाई दिनु पर्ने सेवा प्रदान गर्न आवास गृहको सेवा दिदै गर्दै आएको बताए । उहाँले अहिलेको समयमा दाता राणाले नितान्त सामाजिक भावनाले प्रेरित भएर आवास गृहको जग्गा खरिद र भवन निर्माणमा गरेको सहयोगको श्रर्हाना गर्नु भएको छ ।
आवास गृहको भवनको निर्माण पुरा नभई सकेको अवस्थामा दाताको थप सहयोग हुनेमा बिश्वास व्यक्त गर्दै उहाँले जिल्लाका स्थानिय तहले समेत आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । दाता समाजसेवी राणाले गरेको सहयोगका कारण आवास गृहको स्थायित्वलाई सुनिश्चित गरेको साथीकी केन्द्रिय अध्यक्ष सजनी पनेरु अमात्यले बताइन् । निर्माणाधिन भवन लागि कपिलवस्तु जिल्लामा जस्तो घरेलु र लैङ्गिक हिंसा प्रभावितका लागि अति आवश्यक आवास गृहमा दाताको सहयोगको खुलेर प्रशंसा गर्दै १६ बर्ष यता सञ्चालनमा रहेको आवास गृहको स्थायी संरचनाको अभाव अब नरहने मा उनले खुसी व्यक्त गरिन् । भवनको निर्माण पुरा भएसगै दाता राणाबाटै भवनको उदघाटन गरि संरक्षकत्व ग्रहण हुनेमा अध्यक्ष अमात्यले बिश्वास जनाइन् ।
कपिलवस्तु जिल्लामा सञ्चालनमा रहेको आवास गृह श्रोत र सुबिधाका अभाव झेल्दै आएको र जिल्लाका सबै सरोकारवालाको सुझावकै आधारमा निरन्तर सेवा प्रवाहमा लागेको संयुक्त राष्ट्र संघिय सिड कमिटीकी सदस्य तथा साथीकी पुर्व अध्यक्ष बन्दना राणाले बताइन ।
जिल्लाका केहि स्थानिय तहले र कपिलवस्तु नगरपालिकाले आश्रय गृह निरन्तर सञ्चालनका लागि बिभिन्न सहयोग गर्दै आएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । उनले आगामी दिनमा पनि आवास गृहको स्थायित्वको लागि जिल्लाका पालिकाहरुले सहयोगमा तत्परता देखाउने प्रतिबद्धता जनाए ।
आवास गृहले सन् २००८ मा जिल्लामा सञ्चालनमा आए यता करिब २ हजार ४ सय बढि प्रभावित महिला तथा बालिकालाई आश्रयको सेवा दिएको आवास गृहकी संयोजक बिमला घिमिरेले बताइन ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, युएनएफपीएका जिल्ला प्रतिनिधी सन्जय पण्डित, नेपाल पत्रकार महासंघ उपाध्यक्ष तथा साथीका साधारण सदस्य खग प्रसाद चापागाईले जिल्लामा स्थायी आवास गृहको अतिनै आवश्यकता रहेको बेला दाताले गरेको सहयोग प्रशंसनिय र थप सहयोग हुनेमा बिश्वस्त रहेको बताए ।