बाणगंगा शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी छः मेयर अर्याल


पालिका पत्र

१४ माघ २०८१, सोमबार १९:०१ मा प्रकाशित

बाणगंगा, १४ माघ । बाणगंगा नगरपालिका शिक्षा क्षेत्रसँगै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी रहेको नगर प्रमुख चक्रपाणि अर्यालले बताएका छन् । उनले नगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न नीतिहरू लागू गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिएको स्पष्ट पारे ।

हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित खेल सप्ताहको उद्घाटन समारोहमा बोल्दै मेयर अर्यालले बालबालिकाको शारीरिक र मानसिक विकासमा खेलकुद र अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “केवल पुस्तकमा सीमित हुने शिक्षा पर्याप्त हुँदैन । विद्यार्थीहरूले खेलकुद र अन्य अतिरिक्त गतिविधिमार्फत जीवनोपयोगी सीपहरू सिक्नुपर्छ,” उनले भने ।

नगरपालिकाले विद्यालयहरूमा खेलकुदका लागि पूर्वाधार निर्माण, सामग्री वितरण, प्रशिक्षकको व्यवस्था र प्रतियोगिताको आयोजना जस्ता गतिविधिलाई प्राथमिकतामा राख्दै आएको मेयर अर्यालले जानकारी दिए । “हामीले शिक्षा प्रणालीलाई खेलकुद र सांस्कृतिक गतिविधिसँग जोडेर अगाडि बढाउने योजना बनाएका छौँ । यसले विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नेछ,” उनले थपे ।


खेल सप्ताहको उद्घाटन समारोहमा विभिन्न खेल प्रतियोगिताहरू सुरु गरिएका थिए । विद्यार्थीहरूले फुटबल, भलिबल, दौडलगायत खेलहरूमा उत्साहपूर्वक सहभागिता जनाएका छन् । विद्यालयका प्रिन्सिपल शिवकुमार पोख्रेलले खेल सप्ताहले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै टीमवर्कको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य तथा हिलबर्ट माविका अध्यक्ष दिपक खनाल, प्रबन्ध निर्देशक बुद्धि पौडेलको उपस्थिती समेत रहेको थियो ।

कार्यक्रममा विद्यालयका इभेन्ट कोडिनेटर सन्तोष खनालको स्वागत तथा विद्यालयका एकेडमी डाइरेक्टर तेज प्रसाद आचार्यको सञ्चालन रहेको थियो । विद्यालयले एक सातासम्म विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्