बाणगंगाका ६ हजार किशोरीहरूको रक्तअल्पता जाँच गरिने


पालिका पत्र

२३ माघ २०८१, बुधबार ०७:४९ मा प्रकाशित

बाणगंगा, माघ २३ ।
बाणगंगा नगरपालिकामा किशोरीहरूको रक्तअल्पता परीक्षण अभियान सुरु गरिएको छ । मंगलबारदेखि सुरु भएको यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ, जसअन्तर्गत नगरपालिकाका सबै सामुदायिक तथा निजी विद्यालयका किशोरीहरूको परीक्षण गरिनेछ ।

बाणगंगा–२ पिपरास्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता परीक्षण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार आइरन र फोलिक एसिड सेवन गरिरहेका किशोरीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन परीक्षण थालिएको हो ।

नगरपालिकाका ५३ विद्यालयमा सञ्चालन गरिने यस कार्यक्रममार्फत कक्षा ६ देखि माथिका करिब ६ हजार किशोरीहरूको स्वास्थ्य जाँच गरिनेछ । यस अभियानमा निजी विद्यालयहरूलाई समेत समावेश गर्दै बाणगंगा नगरपालिका देशमै पहिलो स्थानीय तह बनेको छ ।

नगरप्रमुख चक्रपाणी अर्यालले किशोरीहरूको वृद्धि, विकास, र समग्र स्वास्थ्य सुधारका लागि यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार रक्तअल्पताको समयमै पहिचान गरेर स्वस्थ नागरिक निर्माणमा यो कार्यक्रम सहयोगी बन्नेछ ।

जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले रक्तअल्पता परीक्षणबाट किशोरीहरूको पोषण सुधार हुने र स्वास्थ्यप्रति सचेतना बढ्ने बताए । कार्यक्रम उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, स्वास्थ्य अधिकृत भक्ति पाण्डे लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा तथा बाणगंगा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्