‘सकारात्मक र स्वस्थ नागरिक तयार गर्न बृहत यौनिकता शिक्षा आवश्यक’


पालिका पत्र

५ फाल्गुन २०८१, सोमबार २०:४० मा प्रकाशित

फागुन ५ गते । कपिलवस्तुका स्थानीय तहमा लागु पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तुहरू समावेश गर्नका लागि पहल गर्ने निर्णय गरिएको छ । नेपाल परिवार नियोजन संघ कपिलवस्तु र युएनएफपिएको आयोजनामा स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूका लागि बृहत यौनिकता शिक्षा कार्यक्रमको दिगोपना र आगामी योजनासम्बन्धी कार्यशाला गोष्ठीले सो निर्णय गरेको हो ।

यौनिकताका विषयबस्तुहरू अझै पनि विद्यालयमा प्रभावकारी रुपमा लागु नभएको, शिक्षकहरुले समेत अझै पढाउन आनाकानी गरेका लगायतका बिषयहरु गोष्ठीमा समस्याका रुपमा औँल्याइएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले यौनिकता विषयलाई पाठ्यक्रममा समावेश गरेर प्रभावकारी रुपमा लैजानु पर्ने बताए । यो विषय पठनपाठनमा अझै पनि शिक्षक बिद्यार्थीहरु खुल्न नसकेको उनको भनाइ थियो ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले किशोरकिशोरी समूहद्धारा बृहत यौनिकताका सवालमा कार्य गर्ने बताए । पालिका मार्फत बृहत यौनिकताका सवालमा योजनागत रुपमा काम गर्न आफुहरु तत्पर रहेको उनले जनाए ।

कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय पालिकाका बिद्यालयहरुले फर्जी काम गरिरहेको बताए । जिल्लाका शुद्धोधन, मायादेवी गाउँपालिका र महाराजगंज र कपिलवस्तु नगरपालिकाका अधिकांश बिद्यालयहरुले बिद्यार्थीहरुको फर्जी नाम दर्ता गर्दै दिवाखाजा एवम् अन्य सुविधाहरुको दुरुपयोग गरेको उनले बताए ।

बिद्यालयहरुमा अनुगमनको क्रममा उपस्थितीको दरमा भारी मात्रामा गिरावट आएको पाइएकाले यी क्षेत्रका बिद्यालयहरुमा सुधारात्मक कदम चाल्न समेत सुझाव दिइएको शिक्षा समन्वय इकाई प्रमुख मरासिनीले बताए । इमेस प्रणालीमा बिद्यार्थीको नाम दर्ता फर्जी रुपमा गर्ने तर बिद्यार्थीको बिद्यालयमा उपस्थिती घट्ने प्रक्रिया कायमै राख्ने स्थिती भए शिक्षा क्षेत्र तहसनहस हुन सक्ने चेतावनी पनि दिए ।

जिल्लामा १२ बिद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिएका छन् । लुम्बिनी प्रदेशका कपिलवस्तु र रुकुमपूर्व जिल्लामा यस कार्यक्रम संचालनमा रहेको कार्यक्रमका फोकल पर्सन बसन्त खनालले बताए । सो अवसरमा युएनएफपिएका लुम्बिनी प्रदेश प्रतिनिधी केश बहादुर मल्लले बृहत्तर यौनिकता शिक्षामा कपिलवस्तु र लुम्बिनी प्रदेशमा भएका प्रगतिहरुका विषयमा जानकारी गराए ।

सो अवसरमा बाणगंगा नगरपालिकाका शिक्षा शाखाका प्रमुख खिम बहादुर जिसी, यशोधरा गाउँपािलकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र मिश्र, महाराजगंज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवार, बाणगंगा नगरपालिकाका महिला बिकास निरीक्षक सुसिला पन्थ लगायतले यौनिकता शिक्षाका आफ्नो पालिकामा भएका प्रगतिका विषयमा जानकारी गराएका थिए ।

नेपाल परिवार नियोजन संघ कपिलवस्तु सभापति बिकास पोख्रेलको अध्यक्षता, जिल्ला समन्वय प्रमुख आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य, शिक्षा, महिला बिकास शाखाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्