
कपिलवस्तु, चैत्र २४ । सर्पदंशबाट हुने मृत्यु न्यूनीकरण गर्न नेपाली सेना र बुद्धभूमि नगरपालिकाले संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । कपिलवस्तु सर्प दंश उपचार केन्द्र, गोरुसिंगे मार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
गर्मी याममा सर्पको सक्रियता बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई लक्षित गरी गाउँगाउँमा माइकिङमार्फत जनचेतना फैलाइएको शमशेर दल गण, गोरुसिंगे ब्यारेकका गणपति प्रमुख सेनानी विदुरध्वज अधिकारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार विगतमा सामान्य लापरवाहीका कारण अकालमै ज्यान गुमाउने घटनाहरू भएकाले सचेतना कार्यक्रम आवश्यक देखिएको हो ।
बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले विशेषतः गर्मी महिनामा सर्प जमिनको सतहमा देखिने भएकाले सर्प मानव बस्तीमा पस्न सक्ने र त्यसबाट ज्यान समेत जान सक्ने खतरा हुने बताए । उनले तालतलैया, खोला–नाला र झाडी नजिकको क्षेत्रमा सावधानी अपनाउन आग्रह गरे ।
श्रेष्ठले सर्पले टोकेको अवस्थामा ढिला नगरी नजिकको सर्पदंश उपचार केन्द्रमा पुग्न सबैलाई अनुरोध गरे । सर्पलाई जिस्काउने वा चलाउने कार्य नगर्न, खेतबारीमा काम गर्दा गम्बुट प्रयोग गर्न, अँध्यारोमा टर्चलाइट लिएर हिँड्न र घर वरपर सफा राख्न सुझाव दिइएको छ ।
सर्प प्रायः मुसा वा खाना–पानीको खोजीमा घरभित्र पस्न सक्ने भएकाले खाना तथा पानीका भाँडाहरू छोपेर राख्न, मुसा नियन्त्रण गर्न र भुइँमा खाना नछोड्न सर्पदंश उपचार केन्द्रले आग्रह गरेको छ ।
त्यस्तै, प्राथमिक उपचारको विषयमा पनि जानकारी दिइएको छ । सर्पले टोकेको खण्डमा डसेको अंग हल्लन नदिनु, बिरामीलाई सान्त्वना दिनु र तुरुन्तै उपचार केन्द्र पुर्याउनु अत्यावश्यक हुने बताइएको छ ।