हरि घिमिरे, ०५ मंसिर । कपिलवस्तुका उद्योगी तथा व्यवसायीले निजी क्षेत्रको संरक्षण, लगानीमैत्री वातावरण निर्माण र व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ वार्षिक साधारण सभामा सहभागी वक्ताहरूले व्यवसायीको हकहित संरक्षणसँगै संघलाई थप सशक्त, व्यवस्थित र क्रियाशील बनाउनुपर्ने बताएका हुन् ।
वाणगंगा नगरपालिका–७ स्थित खारखानी पिकनिक स्पटमा सम्पन्न साधारण सभामा जिल्लाका करिब २०० व्यवसायीको सहभागिता रहेको थियो । सभामा व्यवसायीका वर्तमान समस्या, व्यापारिक वातावरण, निजी क्षेत्रको संरक्षण, लगानी प्रवर्द्धन तथा संघको आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग व्यापार संघ लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी रोकाया खत्रीले देशको आर्थिक समृद्धिका लागि उद्योगी तथा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले व्यवसायीका हकहित संरक्षण, लगानीको वातावरण निर्माण र निजी क्षेत्रका समस्या समाधानका लागि संघसंस्थाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । व्यवसायीले भोगिरहेका नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
विशिष्ट अतिथि संघका केन्द्रीय सदस्य गिरिराज पौडेलले उद्योग तथा व्यापार क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानका लागि संगठनात्मक एकता आवश्यक रहेको बताए । उनले व्यवसायीको हितमा नीति निर्माण तथा कार्यान्वयनका लागि संघले निरन्तर पहल र खबरदारी गर्नुपर्ने धारणा राखे ।
केन्द्रीय सदस्य रहिस साहले व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका विभिन्न समस्या समाधान गर्न सामूहिक पहल आवश्यक रहेको बताए । उनले साना तथा मझौला व्यवसायीको संरक्षण, व्यवसायमैत्री नीति र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेलले संस्थाको विगतका गतिविधि र उपलब्धिको चर्चा गर्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र क्रियाशील बनाउनुपर्ने बताए । उनले व्यवसायीबीच आपसी सहकार्य र एकता बलियो भए मात्रै संघले आफ्नो उद्देश्य हासिल गर्न सक्ने धारणा राखे ।
त्यस्तै, संघका सल्लाहकार टीकाराम पौडेलले व्यवसायीका वास्तविक समस्या पहिचान गरी समाधानमुखी योजना निर्माण गर्न सुझाव दिए । उनले संघलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी सदस्य व्यवसायीको सुखदुःखमा साथ दिने साझा संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
साधारण सभामा संघका अध्यक्ष टोपनारायण बेल्बासेले वार्षिक कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्दै संघले आगामी दिनमा व्यवसायीको हकहित संरक्षण, संगठन विस्तार, व्यवसायीबीच समन्वय तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले बदलिँदो आर्थिक अवस्था र व्यापारिक चुनौतीका बीच व्यवसायीलाई संगठित गर्दै उनीहरूका समस्या समाधानका लागि संघले थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा महासचिव माधवभाट क्षेत्रीले संघको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सालिकराम आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष शंकरभाट क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव माधवभाट क्षेत्रीले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष बासुदेव खनालले धन्यवाद मन्तव्य राखेका थिए ।
करिब २०० व्यवसायीको सहभागितामा सम्पन्न साधारण सभाले संघको आगामी कार्यदिशा तय गर्नुका साथै व्यवसायीबीच आपसी एकता, सहकार्य र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्