कपिलवस्तु , ११ मंसिर ।
१७औँ कपिलवस्तु महोत्सवमा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज तथा पशुपालनजन्य उत्पादनलाई बजारीकरणसँग जोड्ने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ ।
बिहीबार कपिलवस्तु उद्योग वाणिज्य संघको परिसरमा आयोजित छलफलमा कृषकका उत्पादनलाई महोत्सवमा प्राथमिकता दिने, बजारीकरणमा सहयोग पुर्याउने तथा उत्कृष्ट कृषकलाई सम्मान गर्ने विषयमा विचारविमर्श गरिएको हो ।
छलफलमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, बाणगंगा नगरपालिका वडा नं। ४ का अध्यक्ष छविरेश्मी मगर, नगरपालिकाका कृषि शाखा प्रमुख लेसबहादुर केसी, पशु शाखाका चिकित्सक ध्रुव ज्ञवालीलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
कृषि, पशु, वन तथा जडिबुटी उपसमितिका संयोजक राजेन्द्र विक्रम शाहले व्यावसायिक कृषि तथा पशुपालनमा संलग्न कृषकलाई महोत्सवमा सहभागी भई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बजारीकरण गर्न आग्रह गर्नु भयो । महोत्सव स्थानीय कृषकका उत्पादनलाई उपभोक्ता र बजारसम्म पुर्याउने महत्वपूर्ण अवसर बन्न सक्ने उहाको भनाइ थियो ।
संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले महोत्सवमा कृषकलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। महोत्सवलाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय उत्पादन, कृषि व्यवसाय र कृषकको पहिचान प्रवर्द्धन गर्ने साझा अवसरका रूपमा विकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्