ज्ञानपुञ्जका विद्यार्थीको जन्मजात तथा बाथ मुटुरोग परीक्षण

कपिलवस्तु, ९मंसिर

ज्ञानपुञ्ज बोर्डिङ स्कुल, बाणगंगा नगरपालिका–२, राजपुर, कपिलवस्तुमा विद्यालयका विद्यार्थीहरूको जन्मजात मुटुरोग तथा बाथमुटुरोग परीक्षणसम्बन्धी स्वास्थ्य सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

“समयमै जाँच, सही पहिचान, स्वस्थ बालबालिका, उज्ज्वल भविष्यको अभियान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम विद्यालयका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा। सुमन बनजाडेले विद्यार्थीहरूलाई जन्मजात मुटुरोग तथा बाथमुटुरोगसम्बन्धी विशेष जानकारी प्रदान गर्नुभएको थियो। उहाँले मुटुरोगका कारण, लक्षण, सम्भावित जोखिम, समयमै पहिचान, परीक्षण तथा रोकथामका उपायबारे विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई जानकारी गराउनुभएको थियो।

उहाँको प्रस्तुतिले बालबालिकाको स्वास्थ्यप्रति सचेत रहनुपर्ने आवश्यकता र समयमै स्वास्थ्य परीक्षणको महत्त्वलाई उजागर गरेको थियो। कार्यक्रममा सह–आयोजक सिग्नर्जी न्युटेक प्रा।लि।का तर्फबाट केशव प्रसाईंको सहभागिता रहेको थियो। त्यसैगरी विद्यालयका सञ्चालक एवं शिक्षा समिति संयोजक गोविन्द खनाल, प्रिन्सिपल सुरेन्द्र पाण्डेय, भाइस प्रिन्सिपल महेश पन्थ, शिक्षक तथा कर्मचारीहरू र सम्पूर्ण विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, कपिलवस्तु शाखाको प्राविधिक सहयोग रहेको थियो। विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्ने, मुटुरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको समापनमा अध्यक्ष नारायण प्रसाद पौडेलले बालबालिकाको स्वास्थ्य र शिक्षा एकअर्काका परिपूरक भएको उल्लेख गर्दै स्वस्थ शरीर र सकारात्मक सोचले नै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको समयमै पहिचान र रोकथाममा ध्यान दिनु अझ महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।

साथै, उहाँले कार्यक्रमलाई सफल बनाउन विशेष योगदान पुर्‍याउनुहुने मुटुरोग विशेषज्ञ डा। सुमन बनजाडे, सह–आयोजक सिग्नर्जी न्युटेक प्रा।लि।, नेपाल हृदयरोग निवारण प्रतिष्ठान कपिलवस्तु शाखा, विद्यालयका सञ्चालक, शिक्षा समिति संयोजक, प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, कर्मचारी तथा सम्पूर्ण विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। ज्ञानपुञ्ज बोर्डिङ स्कुलले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा, अनुशासन र सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक तथा स्वास्थ्योपयोगी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्