कपिलवस्तु, ११ मंसिर ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले पछिल्लो पुस्ताका बालबालिका पुस्तक पढ्ने संस्कार भन्दा ग्याजेट प्रयोग गर्ने संस्कारमा बढी रमाउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकालाई प्रविधिको प्रयोगमा मात्र सीमित नराखी कला, साहित्य, सिर्जना र व्यावहारिक सीपमा समेत दक्ष बनाउनुपर्ने बताउनुभएको छ ।
कपिलवस्तुमा शुक्रबारदेखि सुरु भएको ३१औँ राष्ट्रिय बाल साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रविधिको विकाससँगै बालबालिकाको जीवनशैली र रुचिमा परिवर्तन आएको बताउनुभयो । मोबाइल तथा अन्य विद्युतीय उपकरणको बढ्दो प्रयोगले पुस्तक पढ्ने बानी र सिर्जनात्मक गतिविधिमा बालबालिकाको रुचि घट्दै जानु चिन्ताको विषय भएको उहाँको भनाइ थियो ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयको पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले साहित्य, कला, संस्कृति र सिर्जनात्मक गतिविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । बाल्यकालमै पढ्ने, लेख्ने र सिर्जना गर्ने बानीको विकास गर्न सके भविष्यमा जिम्मेवार, सिर्जनशील र दक्ष नागरिक उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।
नेपाल बाल साहित्य समाज काठमाडौँ र भृकुटी सामुदायिक अध्ययन केन्द्र कपिलवस्तुको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भारत र दक्षिण कोरियाका साहित्यकार तथा बाल साहित्यका अध्येताको सहभागिता रहेको छ । सम्मेलनमा बालकथा, कविता, निबन्ध, समीक्षा लेखन, चित्रकला, हस्तलेखन तथा देवनागरी हस्तलेखनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । विभिन्न विधाका प्रशिक्षणमा छ सय विद्यार्थी सहभागी भएको स्थानीय मूल आयोजक समितिका संयोजक मिनराज बेल्वासेले बताउनुभयो ।
नेपाल बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले बाल साहित्यका माध्यमबाट बालबालिकामा नैतिक चेतना, मानवीय मूल्य, सामाजिक उत्तरदायित्व र विश्वबन्धुत्वको भावना विकास गर्नु सम्मेलनको उद्देश्य रहेको बताउनुभयो । उहाँले बालबालिकामा पठन संस्कृतिको विकास गर्दै उनीहरूभित्र रहेको कल्पना, विचार र सिर्जनात्मक क्षमतालाई उजागर गर्न सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।











प्रतिक्रिया दिनुहोस्