रोग लुकाउँदा जोखिम, समयमै पहिचान र उपचारमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

कपिलवस्तु । समाजमा अझै पनि रोग लुकाउने, उपचारमा ढिलाइ गर्ने र स्वास्थ्य समस्यालाई सामाजिक विभेदसँग जोडेर हेर्ने प्रवृत्ति कायम छ । विशेषगरी कुष्ठरोग, हात्तीपाइले, कालाजार, डेंगु, सर्पदंशजस्ता उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) का विषयमा पर्याप्त जानकारी नहुँदा प्रभावित व्यक्तिहरू समयमै उपचारको पहुँचमा पुग्न नसकेको स्वास्थ्य क्षेत्रका सरोकारवालाले बताएका छन् ।

यस्ता रोगको समयमै पहिचान, उपचार र रोकथामका लागि समुदायमा सही सूचना पुर्‍याउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्ने निष्कर्षसहित कपिलवस्तुमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताहरूले उपेक्षित उष्णप्रदेशीय रोग स्वास्थ्य समस्यामा मात्र सीमित नरहेको उल्लेख गर्दै यसले गरिबी, सामाजिक बहिष्करण, विभेद र जनजीवनमा समेत गम्भीर प्रभाव पार्ने बताएका थिए। रोगबारे पर्याप्त जानकारी नहुँदा संक्रमित व्यक्तिले उपचारमा ढिलाइ गर्ने र कतिपय अवस्थामा सामाजिक अपहेलना सहनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ थियो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रवक्ता नेत्रलाल अर्यालले उपेक्षित उष्णप्रदेशीय रोगको प्रकृति, जोखिमका कारण र नियन्त्रणका उपायबारे प्रस्तुति दिँदै यस्ता रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्न सक्ने जानकारी गराउनुभयो ।

उहाँका अनुसार सरसफाइको अभाव, रोग सार्ने कीटको संक्रमण, घरपालुवा जनावरसँगको निकट सम्पर्क तथा गरिबी यस्ता रोगको जोखिम बढाउने प्रमुख कारण हुन् । विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदाय बढी प्रभावित हुने गरेका छन् ।

उहाँले रोगलाई सामान्य ठानेर बेवास्ता गर्दा समयमै पहिचान र उपचार हुन नसक्ने तथा स्वास्थ्य अवस्था जटिल बन्न सक्ने भन्दै रोगका लक्षण, जोखिम र उपचारका उपायबारे नागरिकलाई सचेत बनाउन सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मेडिकल अफिसर डा. संज्ञा सेनले उपेक्षित उष्णप्रदेशीय रोगको पहिचान, लक्षण, परीक्षण तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभयो । उहाँले कुनै पनि शंकास्पद लक्षण देखिएमा रोग लुकाएर बस्नुभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गर्नुभयो ।

विशेषगरी कुष्ठरोगबारे समाजमा अझै पनि विभिन्न भ्रम र गलत धारणा रहेको उल्लेख गर्दै उहाँले समयमै पहिचान गरी नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण रूपमा निको हुने बताउनुभयो । रोग लुकाउँदा उपचारमा ढिलाइ हुने र जटिलता बढ्न सक्ने भएकाले प्रभावित व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य प्रमुख शिव सार्कीले जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था, नियन्त्रणका लागि भइरहेका प्रयास, चुनौती तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो । उहाँले रोग नियन्त्रणका लागि स्वास्थ्य संस्थाको सेवा विस्तारसँगै समुदायस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, कुष्ठरोग विशेषज्ञ मोहम्मद इरफानले कुष्ठरोगका लक्षण देखिएमा समयमै परीक्षण र उपचार गराउनुपर्नेमा जोड दिनुभयो । समाजमा कुष्ठरोगलाई लिएर कायम रहेको भ्रम र विभेद हटाउन सञ्चारमाध्यम तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वास्थ्य कार्यालय तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न परियोजनाले आफ्ना गतिविधि, कार्यक्रम र उपलब्धिबारे सञ्चारकर्मीलाई समयमै जानकारी गराउनुपर्ने बताउनुभयो । स्वास्थ्यसम्बन्धी विषयमा तथ्यपरक समाचार सम्प्रेषण गर्न नियमित सूचना आदानप्रदान आवश्यक रहेको उहाँको भनाइ थियो ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी रामेन्द्र सिंह रावलले उपेक्षित उष्णप्रदेशीय रोगको नियन्त्रण तथा रोकथाम कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताउँदै सरकारी तथा गैरसरकारी संस्था, सञ्चारकर्मी र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनले उपेक्षित उष्णप्रदेशीय रोगलाई विभिन्न समूहमा वर्गीकरण गरेको छ । नेपालमा डेंगु, चिकेनगुनिया, रेबिज, कुष्ठरोग, ट्रकोमा, सर्पदंश, हात्तीपाइले र कालाजारलगायतका रोग जनस्वास्थ्यका चुनौतीका रूपमा रहेका छन् । यी रोगको प्रभाव विशेषगरी स्वास्थ्य सेवाको पहुँच कमजोर भएका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायमा बढी देखिने गरेको छ।

कार्यक्रम स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना, फेयरमेड फाउन्डेसन नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रको साझेदारी तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा प्रेरणा परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो ।

कार्यक्रमले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा उपचार सेवासँगै जनचेतना, सही सूचना प्रवाह र सामाजिक विभेद अन्त्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्