विदेश अध्ययनको परामर्श अब जितपुरमै, कपिलवस्तुमा खुल्यो एक्सपर्टको नयाँ शाखा

जितपुर ।

विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका कपिलवस्तुका विद्यार्थीलाई लक्षित गर्दै बाणगंगा नगरपालिका–४, जितपुरमा एक्सपर्ट एजुकेसन भिसाको नयाँ शाखा सञ्चालनमा आएको छ । जिल्लामै अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी परामर्श सेवा विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको शाखाले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई स्थानीय स्तरमै सेवा लिन सहज बनाउने जनाएको छ ।

बुधबार शाखाको लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

शाखाको उद्घाटन गर्दै सांसद पन्थीले विश्व साँघुरिँदै गएको वर्तमान समयमा नेपाली युवाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन, सीप विकास तथा रोजगारीका अवसर खोज्दै अघि बढिरहेको बताउनुभयो । उहाँले विदेशमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने कपिलवस्तुका विद्यार्थीका लागि जिल्लामै शैक्षिक परामर्श सेवा उपलब्ध हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्नुभयो ।

विदेश अध्ययनको आकर्षण बढ्दै जाँदा विद्यार्थीले सही शैक्षिक संस्था छनोट, विषय तथा विश्वविद्यालयको पहिचान, आवश्यक कागजात तयारी, आवेदन प्रक्रिया र भिसासम्बन्धी जानकारी प्राप्त गर्नुपर्ने हुन्छ । यस्ता प्रक्रियामा पर्याप्त जानकारी नहुँदा विद्यार्थी अन्योलमा पर्ने तथा परामर्शका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था पनि रहँदै आएको छ । जितपुरमा नयाँ शाखा सञ्चालन भएपछि यस्ता सेवा स्थानीय स्तरमै उपलब्ध हुने अपेक्षा गरिएको छ ।

एक्सपर्ट एजुकेसन भिसा बुटवलका निर्देशक शङ्कर सापकोटाले विद्यार्थीलाई गुणस्तरीय, विश्वसनीय र सहज सेवा उपलब्ध गराउने उद्देश्यले जितपुरमा शाखा विस्तार गरिएको बताउनुभयो । बुटवल, काठमाडौंलगायतका शाखाबाट प्रदान हुँदै आएका सेवा अब जितपुरबाटै उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

शाखा विस्तारसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रका विद्यार्थीले विदेश अध्ययनसम्बन्धी प्रारम्भिक परामर्श, शैक्षिक गन्तव्य छनोट, आवेदन तयारी तथा भिसा प्रक्रियाबारे जानकारी लिन सहज हुने देखिएको छ । विशेषगरी बाणगंगा, बुद्धभूमि, शिवराज, कपिलवस्तु नगरपालिका तथा आसपासका क्षेत्रका विद्यार्थीलाई सेवा लिन भौगोलिक रूपमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्