असार १६, कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका ५० जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। कञ्चनले शिक्षामा सबैको पहुँच पुर्याउने उद्धेश्यका साथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।
विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आर्थिक अभावका कारण कञ्चनका कुनै विद्यार्थीले विद्यालय शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हेतुका साथ विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको उल्लेख गर्नु भएको थियो।
यस्तै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेलले पालिका भित्रका हरेक विद्यार्थीहरुको अभिभावकत्व गर्नु पालिकाको जिम्मेवारी भएको उल्लेख गर्दै आर्थिक अभावका कारण झोला, कपी र पेन्सिल समेत किन्न नसक्ने घर परिवारका विद्यार्थीहरुलाई विद्यालय शिक्षाको पहुँचमा सहयोग गर्न यस शैक्षिक सामग्रीले थोरै भएपनि राहत पुग्ने विश्वास गर्नु भएको छ।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले पालिकाले शैक्षिक क्षेत्रमा गरेको लगानीको प्रतिफलको रुपमा हरेक बर्ष कञ्चनको शैक्षिक अवस्थामा गुणात्मक र संख्यात्ममक रुपमा बृद्धि हुदै गइरहेको बताउनु भएको थियो। कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले कञ्चनमा पनि बाह्य शैक्षिक संस्थाहरुको शैक्षणिक कृयाकलापहरुसंग सहज प्रतिस्पर्धा गर्न गरी हरेक क्षेत्रमा विद्यार्थीहरु प्रतिस्पर्धी बन्न सक्ने बनाउनमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको अतुलनीय भूमिका रहेको समेत बताउनु भएको थियो।
कञ्चन गाउँपालिकाको आयोजना तथा महिला बिकास सेवा ईकाईको व्यबस्थापनमा भएको कार्यक्रममा भएको कार्यक्रमको सहजिकरण महिला विकास निरीक्षक राधा भट्टराईले गर्नु भएको थियो । कञ्चन ४ स्थित दियो सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो।



