मायादेवी गाउँपालिकाद्वारा ६७ करोडभन्दा बढीको बजेट सार्वजनिक


पालिका पत्र

7 July, 2026 9:21 am मा प्रकाशित

कपिलवस्तु, असार २३।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड १ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष सरस्वती यादवका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले बजेट प्रस्तुत गरेका हुन्। यसअघि गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए।

अध्यक्ष मुसलमानले नीति तथा कार्यक्रम गाउँपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर तयार गरिएको बताए। उनका अनुसार संस्थागत सुशासन, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु सेवा, सहकारी, रोजगार, सुरक्षित वैदेशिक रोजगारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, मधेसी, मुस्लिम, लोपोन्मुख तथा आदिवासी समुदायको उत्थान, सामाजिक सुरक्षा, न्यायिक समिति, उद्यम विकास, पूर्वाधार निर्माण, आन्तरिक राजस्व अभिवृद्धि, वित्तीय सुशासन तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखिएको छ।

उनले गाउँपालिकाको आवश्यकता र जनअपेक्षालाई मध्यनजर गर्दै समुन्नत पालिका निर्माण गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्