विपद् कोषबाट ४५ लाख निकाल्दै बाणगंगा, भोटेकोशी बाढीपीडितलाई सहयोग


पालिका पत्र

1 September, 2026 6:11 pm मा प्रकाशित

बाणगंगा, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रिय विपद्को समयमा स्थानीय तहले आफ्नो स्रोत परिचालन गर्दै प्रभावित नागरिकको राहतमा योगदान गर्ने उद्देश्यले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

बाणगंगा नगर कार्यपालिकाको भदौ १६ गते बसेको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार उक्त सहयोग रकम जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषमार्फत जुटाइएको हो । स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिर भएको राष्ट्रिय विपद्मा समेत आर्थिक स्रोत परिचालन गरी सहयोग गर्ने निर्णयलाई मानवीय उत्तरदायित्वका रूपमा हेरिएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले विपद् कुनै भूगोल, वर्ग वा समुदाय विशेषको समस्या नभई सबैको साझा चुनौती भएको बताउनुभयो । उहाँले विपद्को समयमा संघ, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ । पीडित परिवारको पीडामा बाणगंगा नगरपालिका पनि साथमा छ,” नगर प्रमुख अर्यालले भन्नुभयो, “राष्ट्रिय विपद्को यो कठिन अवस्थामा स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्नु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो । त्यसैले राहत तथा पुनःस्थापनाका लागि ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेका हौँ ।”

अर्यालका अनुसार विपद्पछि तत्कालीन राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राख्न आवश्यक छ । तत्कालको राहतले पीडित परिवारलाई केही सहजता प्रदान गरे पनि दीर्घकालीन पुनःस्थापनाका लागि राज्यका सबै तह र निकायबीच प्रभावकारी समन्वय आवश्यक हुने उहाँको भनाइ छ ।

बाणगंगा नगरपालिकाको निर्णयले स्थानीय तहको स्रोतलाई राष्ट्रिय विपद्का बेला प्रभावित नागरिकको पक्षमा परिचालन गर्न सकिने देखाएको छ । ४५ लाख रुपैयाँको सहयोगबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्