शंकरपुर–पजरकट्टी सडकको रुपन्देही १ का सांसद विश्वकर्माद्वारा निरीक्षण,गुणस्तरीय काम गर्न निर्देशन


appharu

१९ मंसिर २०७९, सोमबार १७:०५ मा प्रकाशित

पालिकापत्र,देवदह । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले निर्माणाधीन शंकरपुर–पजरकट्टी सडकको अनुगमन तथा निरीक्षण गरेका छन् । रुपन्देही क्षेत्र नं १ को देवदह–११ र १२ शंकरपुरदेखि ओमसतिया गाउंपालिका र रोहिणी गाउंपालिकाको भारतीय सीमा क्षेत्रमा पर्ने पजरकट्टीसम्म जोड्ने गरी ८ किलोमिटर दुरीको सडक सांसद विश्वकर्माले नै गत असार १ गते शिलान्याश गरेका थिए । यो सडकले रुपन्देही क्षेत्र नं १ लाई पुर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र भारतीय सीमासम्म जोड्ने छ ।
यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत १४ करोड २८ लाख रुपैयां लागतमा दुबैतिर नालीसहित दुई लेनको सडक बन्न लागेको हो ।
सडकको निरीक्षण गर्दै सांसद विश्वकर्माले गुणस्तरमा सम्झौता नगरी समयमै निर्माण पूरा गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । सडक निर्माणमा कमसल सामग्रीको प्रयोग र लापरवाही तरिकाले काम गर्दा गुणस्तरहीन हुने गरेको जनताबाट व्यापक गुनासो आउने गरेको उल्लेख गर्दै सांसद विश्वकर्माले गुणस्तरीय काम गर्न आग्रह गरे । उनले स्थानीय बासिन्दा र सडक उपभोक्ताले पनि निर्माण व्यवसायीको कामको अनुगमन गरी कमजोरी नगर्न दबाब दिनुपर्ने आग्रह गरे । यो सडक निर्माणले पछाडि परेको दक्षिणी क्षेत्रका नागरिक लाभान्वित हुने उनले बताए ।
निर्माणाधीन सडकको साइट इन्चार्ज एवं सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले २०८१ मंसिर मसान्तमा पूरा गर्ने गरी ३० महिनाको अवधि राखेर ठेक्का सम्झौता भएको बताए । निर्माण व्यवसायी निम कन्स्ट्रक्सनका प्रतिनिधि अर्जुनकुमार श्रेष्ठले असार १ गते शिलान्याश भएपनि वर्षायाम, चाडपर्व र आम चुनावका कारण काम शुरु हुन ढिला भएपनि अब ४ स्थानबाट काम शुरु गरी सम्झौता अवधि अगावै काम पूरा गर्ने प्रतिवद्धता जनाए । निरीक्षण टोलीमा रुपन्देही १(१) का प्रदेश सांसद आशिषकुमार चौधरी,पुर्व प्रदेश सांसद डा. कृष्ण न्यौपाने,देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल,उपप्रमुख विद्यालक्ष्मी गुरुङ,देवदह नगरपालिकाका इन्जिनियर राजकुमार यादव लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्