कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने


पालिका पत्र

१० असार २०७८, बिहीबार ०६:२१ मा प्रकाशित

पाल्पा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाभरिका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने उल्लेख छ ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने छ। पाँचजनाको एक परिवारका लागि बिमा खर्च ३ हजार ५०० लाग्ने छ। उक्त रकम गाउँपालिकाले ब्योहोर्ने भएको हो। पहिलो चरणमा अति विपन्न, दलित, अल्पसंख्यक, सिमान्तकृत, एकल महिला, हाल कोरोनाबाट मृत्यु भएका र संक्रमितको परिवारको बिमा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

गाउँपालिकामा करिब पाँच हजार घरपरिवार छन्। सबैको बिमा गर्दा करिब दुई करोड रुपैयाँ लाग्नेछ। बिरामी पर्दा १० हजार तिरेर उपचार गर्न नसक्ने कतिपय परिवारले बिमापछि निःशुल्क एक लाखसम्मको उपचार पाउने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्