समुदायस्तरमै कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०७:१३ मा प्रकाशित

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको नगरपालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो ।

परीक्षणलाई सहज बनाउन र टोलस्तरको तत्कालीन अवस्था थाहा पाउँन समुदायस्तरमै परीक्षण थालिएको वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि पनि परीक्षणको दायरा बढाएका हौं,’ उपप्रमुख ढकालले भनिन्, ‘जेठ २३ गतेसम्म अति प्रभावित क्षेत्रको स्वाब संकलन तथा परीक्षण गरी सकिने छ । र, तत्कालीन अवस्था केलाएर संक्रमण नियन्त्रणको अर्को स्टेप चाल्ने छौं ।’

उपप्रमुख ढकालका अनुसार हाल नगर क्षेत्रका ११ स्थानमा स्वाब संकलन गर्न थालिएको छ । जसअन्तर्गत बुधबार वडा नं. १३ को वडा स्वास्थ्यचौकी र वीरेन्द्रनगर नगरपालिका परिसरमा स्वाब संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै बिहीबार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं। ९ को स्वास्थ्यचौकी लाटीकोइली, शुक्रबार पुनः वीरेन्द्रनगर परिसर र वडा नं। १४ को स्वास्थ्य चौकी गढी, शनिबार वीरेन्द्रनगर(२ को स्वास्थ्य चौकी उत्तरगंगा र आइतबार वडा नं। १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं। १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमामा स्वाब संकलन गरिने छ ।

नगरपालिकाको कार्यालय परिसरमा वडा नं. ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिने छ । नगरपालिकाले पीसीआर र एन्टिजेन दुवै विधिबाट परीक्षण गरिने बताएको छ ।

पछिल्लो समय संक्रमणको दरमा पनि कमी हुँदै गए पनि जोखिम भने कायमै रहेको नगर स्वास्थ्य शाखाका जनस्वास्थय निरीक्षक भुपेन्द्रदेव गिरीले बताए । उनका अनुसार नगरमा हाल एक हजार ५६ जना सक्रिय संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा छन् । त्यस्तै ८ जना जटिल प्रकृतिका संक्रमितको नगर अस्पतालमा उपचार भैरहेको छ ।

नगरपालिकाले हालसम्म ४ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २६ सय ५३ जनाको कोरोना पोजेटिभ देखिएको जनस्वास्थय निरीक्षक गिरीले बताए । ७०७ जनको एन्टिजोन परीक्षण गर्दा १४१ जना संक्रमित फेला परेका छन् । नगरमा हालसम्म ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

समुदायस्तरमा परीक्षणपछि निषेधाज्ञा पनि खुकुलो बनाउने वा कडाइ गर्ने भन्नेबारे पनि थप निर्णय लिइने उपप्रमुख ढकालले बताइन् । वीरेन्द्रनगरमा यही २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्