कपिलवस्तुको वाणगंगाले भलवाडमा ‘डम्पिङ साइट’ बनाउने


appharu

१ असार २०७८, मंगलवार १०:५३ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले वडा नम्बर ९ भलवाडमा डम्पिङ साइट बनाउने भएको छ । फोहर मैला जम्मा गर्ने ठाउँको ब्यवस्थापन गर्न नसकेर बर्षेनी आलोचना खेपिरहेको नगरले आगामी बर्षभित्रै सम्पन्न गर्ने गरी फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) बनाउने भएको हो ।

त्यसको लागि भलवाडमा नमुना सामुदायिक बन क्षेत्रभित्रको जग्गा छनौट गरिएको छ । वडा नम्बर ४ र ७ को सिमानामा पर्ने बाणगंगा पुलको छेउनेर अहिले फोहर जम्मा भइरहेको छ । तर त्यहाँ फोहर जम्मा गर्दा ब्यवस्थित नभएको र राजमार्गमा ओहरदोहर गर्दासमेत नगरको बेइज्जत भइरहेको भन्दै सबैले नगरको आलोचना गरिरहेका छन् ।

बारम्बार प्रयास गर्दा पनि यो ४ बर्षसम्म नगरले ठाउँ तोक्न सकेको थिएन । अहिले वनसंग छलफल गरी लगभग निर्माण सुरु गर्ने गरी काम अघि बढेको नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले पालिका पत्रसंग बताउनु भयो ।

उहाँका अनुसार भलवाडको नमुना वनमा फोहर मैला मात्र जम्मा हुने छैन । त्यो फोहरलाई मोहर बनाउने गरी डम्पिङ साइट बनाउन लागिएको छ । उहाँले भन्नुभयो‘फोहोरबाट मोहोर बनाउने गरी योजना अघि बढिरहेको छ ।

यसले बाणगंगाको फोहर ब्यवस्थापनको समस्या सदाको लागि अन्त्य गर्नेमा विश्वास लिएको छु ।’ आफूहरुका कतिपय चुनावी बाचा अहिलेसम्म पुरा गर्न नसकिएको बताउँदै यो बर्ष गर्न बाँकी गौरवका योजनाको पनि शिल्यान्यास हुने थारुले बताउनु भयो ।

पटकपटक यस स्थानमा अवलोकन भएपछि बल्ल केन्द्र बनाउनेबारे निष्कर्षमा पुगिएको बताउँदै नगर उप-प्रमुख चक्र अर्यालले यो नगरबासीको लागि खुसीको कुरा भएको बताउनु भयो । चाँडै निर्माण कार्य सुरु हुने उहाँको भनाई छ ।

वडा नः ९ का वडा अध्यक्ष धुर्व बेल्बासेले नगरले कहीँ जग्गा नपाएपछि आफुले सो वनसंग समन्वय गरेको बताउनु भयो । फोहर जम्मा गर्दा वडाबासीबाट कुनै अवरोध नभएको समेत बेलबासेको भनाई छ ।

‘फोहर ब्यवस्थापन गर्ने उचित ठाउँ नभएपछि नगरकै लागि यो ठुलो समस्या रहेको पाएँ । अब कुनै नीतगत काम प्रशासनबाट रोकिन्न । जसरी पनि काम अगाडी बढाएर समयमै निर्माण सक्छौँ’ प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनु भयो यसको लागि आगामी आर्थिक बर्ष २०७८ । ७९ को मा पर्याप्त बजेट पनि विनियोजन हुने छ । हिजो जे जति कारणले यो काम नभए पनि अब भने जसरी पनि गर्ने उहाँको प्रतिवद्धता छ ।ल्याण्डफिल्ड साईटको अवलोकनमा नगर प्रमुख थारु, उपप्रमुख अर्याल, प्रमुख प्रशासकीय अधिकृत खनाल, जिल्ला वन अधिकारी र वडा अध्यक्षको टोलीनै वन क्षेत्रमा पुगेको थियो ।

फोहर ब्यवस्थापनको लागि नगरले नै यातायातको साधनको ब्यवस्था गर्ने छ । त्यहाँ जम्मा गरिसकेपछि फोहरको प्रशोधन गरी आयआर्जनका वस्तु बनाइने छ भने कुहिने फोहरबाट प्राङगारिक मल बनाउने योजना रहेको नगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्