कालिका मानवज्ञानबाट ६ सय १० जना एसईईका परीक्षार्थी


appharu

९ बैशाख २०७९, शुक्रबार १७:४२ मा प्रकाशित

पालिकापत्र
बुटवल । सामुदायिक विद्यालयबाट एउटा शैक्षिक सत्रमा एसईई दिने विद्यार्थीको संख्या कति होला ? धेरैको अनुमान हुन्छ–बढीमा सय–डेढ सय जना । तर यो अनुमान भन्दा ५–६ गुणा धेरै विद्यार्थी बुटवलको कालिका मानव ज्ञान माविबाट यो वर्षको एसईईमा सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक भक्तबहादुर बरालका अनुसार कालिका मानवज्ञान माविबाट ६ सय १० जना विद्यार्थी एसईईमा सहभागी छन् । यो संख्या देशभरका विद्यालयमध्येकै सबैभन्दा धेरै भएको बरालले बताए । कालिका मानवज्ञान पछि लिटिल एन्जल्स बोर्डिङ स्कूल काठमाडौंबाट करिब ५ सय विद्यार्थी एसईईमा सहभागी भएका उनले जानकारी दिए । धेरै विद्यार्थी भएकाले कालिकाका विद्यार्थीहरु तीन वटा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका कालिका मानव ज्ञान माविका प्राचार्य दिनेश थापाले बताए । सबैभन्दा कम एक जना मात्र विद्यार्थी हुने विद्यालय संख्या एक दर्जन भन्दा धेरै रहेको बरालले बताए । जिल्लागतरुपमा धेरै काठमाडौंमा ३६ हजार र सबैभन्दा कम मनाङमा २९ जना विद्यार्थी मात्र २०७८ सालको एसईईमा सहभागी भएका बरालले जानकारी दिए । ‘यति धेरै विद्यार्थी सहभागी भएको ख्याल गरेका थिएनौं’–बरालले भने–‘रेकर्ड हेर्दा एउटै विद्यालयबाट ६ सय १० जना परीक्षार्थी सबैभन्दा धेरै संख्या भएको पहिलो रेकर्ड हो ।’ नेपाल सरकारबाट लगातार तीन वर्ष सर्वोत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत कालिका मानवज्ञान माविमा ८ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
यो वर्ष देशभरबाट ५ लाख १४ हजारभन्दा धेरै परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी छन् ।
लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी
लुम्बिनी प्रदेशबाट २०७८ को एसईईमा ८६ हजार ६२४ परीक्षार्थी सहभागि भएका छन् । परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको गैरेले बताए ।
रुपन्देहीमा २ दृष्टिबिहीन सहित १८ हजार २५४ र रुकूम पूर्वमा १ हजार १४१ परीक्षार्थी रहेका छन् । बाँकेमा ९ हजार २८९ जना, बर्दियबाट ८ हजार ५९१ जना, दाङाट १३ हजार १५२, कपिलबस्तुबाट ८ हजार ८३, रोल्पाबाट ४ हजारर ११७, प्यूठानबाट ४ हजार ४२२, गुल्मीबाट ४ हजार ८२३ जना परीक्षार्थी रहेका छन् ।
अर्घाखाँचीबाट ३ हजार ५८५, नवलपरासीबाट ६ हजार ३२६ र पाल्पाबाट ४ हजार ८४१ जना परीक्षार्थी रहेका निर्देशक गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्