सिद्धार्थनगरको वजेट १ अर्ब ३४ करोड


appharu

१० असार २०७९, शुक्रबार १९:०६ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको छ । उपप्रमुख उमा अधिकारीले १ अर्ब ३४ करोड बढीको वजेट सार्वजनिक गरेकी हुन् । संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार रुपैयांको वजेट आएको हो ।
अनुमानित आय व्यय सार्वजनिक गर्दै नगरपालिकाकी उपप्रमुख अधिकारीले बहुवर्षीय तथा क्रमागतमा रहेका योजनाहरुलाई सम्पन्न गर्ने र दिगो एवं वातावरणमैत्री हुने गरी आधारभूत शहरी पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको बताइन् ।
यसै गरि आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पुर्‍याउने , कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिई नीति तथा कार्यक्रम आएको अधिकारीले बताइन् ।
संस्थागत विकास र सुशासन प्रवर्द्धनमा जोड दिई नागरिकमैत्री सेवा प्रवाह गरिने दाबी छ । नगरपालिकाले जेष्ठ नागरिक आश्रय/ मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन ३ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै छाडा चौपाया ब्यवस्थापन गर्न कान्जी हाउस निर्माणका लागि १ करोड बिनियोजन गरिएको छ ।
बोटानिकल गार्डेनको डिपिआर निर्माणको लागि २० लाख र निर्माणाधिन नगर पालिकाको लागि ५ करोड ८० लाख बिनियोजन गरिएको छ । यसैगरि नगरपालिकाले पशुपन्छी विकासतर्फ गाई भैसिको स्वच्छ दुध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ठ ४६ लाख ७५ हजार विनियोजन गरेको छ । नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरम मेयर सामुहिक बिवाह कार्यक्रम गरि फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ ।
नगर प्रमुख इश्तियाक अहमद खाले नगरपालिकाले बिकास निर्माण काममा साना टुक्रे योजनालाइ निरुत्साहित गरि ठूला र देखिने खालका योजना सन्चालन गर्ने नीति लिएको जनाए । नगरलाई क्लिन सिटी ग्रीन सिटी र वातावरणमैत्री नगरको रुपमा विकास गरिने उल्लेख छ । सिद्धार्थनगरलाई सधै हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्