न्यू होराइजन माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र अभिमुखीकरण


appharu

२९ श्रावण २०७९, आईतवार १८:२६ मा प्रकाशित

पालिकापत्र, बुटवल । देशकै अब्बल शैक्षिक संस्थामा गनिने बुटवलस्थित न्यू होराइजन माध्यमिक विद्यालयले आइतबार कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण र स्वागत गरेको छ । तिलोत्तमास्थित बोधी भिल्ला रिर्सोटमा आयोजित कार्यक्रममा शैक्षिक अभिमुखीकरण कार्यक्रममा वरिष्ठ मोटिभेरटर डा. ताराप्रसाद गिरीले विद्यार्थीलाई अनुशासन, जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धि लगायतका विषयमा सहजीकरण गरेका थिए ।
विद्यार्थीको अध्ययन तथा सिकाइका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनुपर्ने उल्लेख गर्दै डा. गिरीले नम्बरका आधारमा विषय छनौट तथा अध्ययन गर्नुभन्दा पनि लगन र मेहनेत गरे जस्तासुकै उपलब्धीहरू हात पार्न सकिने बताए । उनले आफ्ना आमा बुबा र गुरुको आदर सम्मान गर्ने र अनुशासनमा बस्ने छोराछोरी र विद्यार्थीले मात्रै जीवनमा सफलता हात पार्ने बताए । डा. गिरीको निकै प्रभावकारी अभिमुखीकरणले सहभागी विद्यार्थी र शिक्षकहरु मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावकले विद्यार्थीलाई आफ्नो रुचिको विषय पढ्न पाउने गरी सहजीकरण गरिदिनुपर्ने बताए ।
पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले अध्ययनसँगै जीवनमा खेलकूलमा पनि विद्यार्थी रुचि हुनुपर्ने बताए । विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले प्राध्यापकहरूको परिचय सहित संवोधन गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता, उपप्राचार्य बाशुदेव अर्यालको स्वागत तथा व्यवस्थापन संकायका संयोजक प्रकाश खनाल र सामाजिक विषयका संयोजक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा बसन्त श्रेष्ठ सहितको टीमले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । चालु शैक्षिक सत्रका लागि न्यू होराइजनमा कक्षा ११ मा ४ सय ५० जना भन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्