शान्ति नमुनाले मनायो ६४ औं वार्षिकोत्सव


appharu

१३ माघ २०७९, शुक्रबार ०९:५२ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले देश र समाजको प्रगतिको लागि शिक्षाको गुणस्तर अनिवार्य सर्त रहेको बताउनुभयो । समग्र सामाजिक रुपान्तरणका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने र त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा समेत उदाहरणिय शैक्षिक अवस्थालाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, सर्वोच्च अदालतका पूर्व न्यायधिश तेज बहादुर के.सी.लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरका लागि विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै राज्यले शिक्षा क्षेत्रमा दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ३१ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, ४ जना विद्यालयका सल्लाहकार , ३ जना विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष, १४ जना उत्कृष्ट अभिभावक र २ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने रिड नेपाल र कामना बैंकलाई सस्थागत सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ. उत्तीर्ण ३ सय ७३ जना र कक्षा १२ उत्तीर्ण ३ सय ८१ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षकोषबाट २ सय ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने सिटिइभिटीतर्फ सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने ३ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
यसैगरी इलेक्ट्रिक कार बनाउने विद्यार्थी सुवास क्षेत्री, अन्तर्राष्ट्रिय खेलकूदमा विभिन्न मेडल प्राप्त गर्न सफल ४ जना खेलाडीलाई समेत सम्मान गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने रामापुर मा.वि.लाई नगद रु.१० हजार, द्वितीय हुने बुद्ध पब्लिक बोर्डिङलाई नगद रु.७ हजार, तृतीय हुने ग्रिन प्लान्ट बोर्डिङलाइ नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त प्यारामाउण्ट बोर्डिङ्लाई नगद रु. ३ हजार, प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अंग्रेजी माध्यम संयोजक दिपेन्द्र कुमार शाक्य, दश जोड दुईका संयोजक राजेन्द्र के.सी. र कक्षा १० का संयोजक शेखर पौडेलले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो ।
विद्यालयमा हाल करिव ५५ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ७५ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार कपिल ज्ञवालीलाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट ज्ञवालीलाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्