लुम्बिनीमा भ्रष्टाचारका मुद्दा बढी पर्ने कपिलवस्तु तेस्रो नम्बरमा


पालिका पत्र

२९ आश्विन २०८०, सोमबार १९:१८ मा प्रकाशित

कपिलवस्तु, असोज २९ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि भ्रष्टाचार रूपन्देहीमा हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका अनुसार रूपन्देही जिल्लामा गत आर्थिक बर्षमा सबैभन्दा बढि उजुरी दर्ता भएका हुन । जहाँ प्रदेशका १२ वटा जिल्ला मध्ये सबैभन्दा बढि उजुरी दर्ता रूपन्देहीमा भएको पाइएको हो ।

भ्रष्टाचारसम्बन्धि उजुरीहरु रुपन्देही जिल्लामा दोब्बरले बढेका छन् । लुम्बिनी प्रदेशका अन्य १२ वटा जिल्लाहरू भन्दा रूपन्देहीमा सबैभन्दा बढी भ्रष्टाचार सम्बन्धि उजुरी दर्ता भएको देखिन्छ । रुपन्देहीमा अन्य जिल्लाहरुको तुलनामा झण्डै दोब्बर बढि भ्रष्टाचार र आर्थिक अनियमितताका उजुरी अख्तीयारमा परेका हुन् ।

अख्तियारको बुटवल कार्यालयका अनुसार रूपन्देहीमा ५ सय ८१ वटा उजुरी गत आर्थिक बर्षमा दर्ता भएका थिए। सोही अनुसार कुल ४ सय २१ वटा उजुरी फछ्र्यौट भएका छन् भने अझै १ सय ६० वटा उजुरी बाँकी रहेका छन।

प्रदेशमा रूपन्देही पछि बाँके जिल्लामा सबैभन्दा धेरै उजुरी परेका छन् । बाँकेमा ३०६ वटा उजुरी परेका छन् । जसमा २०६ वटा फस्र्यौट भएका छन् भने बाँकी १०६ वटा उजुरी बाँकी रहेको अख्तियारले जनाएको छ ।

बाँके पछि तेस्रो नम्बरमा कपिलवस्तु जिल्ला छ । कपिलवस्तुमा पनि उत्तिकै बढी उजुरी दर्ता भएका छन । प्रदेशमा भ्रष्टाचारसम्बन्धि उजुरी बढी हुने जिल्लाको तेस्रो नम्बरमा कपिलवस्तु रहेको छ । कपिलवस्तुमा कुल २ सय ९२ वटा उजुरी दर्ता भएकोमा कुल २ सय ३ वटा उजुरी फ्र्यौट भएका छन् भने अझै कपिलवस्तुका ८९ वटा उजुरी बाँकी छन् ।

गत आर्थिक वर्षमा लुम्बिनीमा भ्रष्टाचारसम्बन्धि उजुरीको अवस्थालाई हेर्दा नवलपरासी पश्चिममा १ सय ४२ वटा उजुरी दर्ता भएकामा ८६ वटा फर्छौट गरिएका छन । यस्तै पाल्पामा १ सय ६२ वटा उजुरी दर्ता हुँदा फर्छौट गरिएका उजुरी १ सय २५ वटा, गुल्मीमा उजुरी दर्ताको संख्या १ सय २८ र फर्छौट संख्या ८१, अर्घाखाँचीमा उजुरी दर्ताको संख्या ७५ र फर्छौट गरिएका उजुरीको संख्या ४९ रहेका छन् ।

यस्तै प्यूठानमा उजुरी दर्ताको संख्या ४४ र फर्छौट उजुरी २९, रुकम , रोल्पा , दाङ लगायतका जिल्लाहरुमा भने निकै कम उजुरी पर्ने गरेका छन् । भ्रष्टाचारका गतिविधि बढ्दो क्रममा रहेको तत्थ्य बाहिरिएपछि स्थानीय अगुवाहरुले सरकारको कामप्रति प्रश्न गरेका छन् ।

अख्तियारको कार्यालय बुटवलको गत आर्थिक वर्षको प्रतिवेदन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले दोषिलाई कारबाही हुने बताएका छन् ।देशभरनै भ्रष्टाचार व्याप्त छ । यसरी मौलाएको भ्रष्टाचारले मुलुकमा वेथितिका चाङ थप बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्