रूपन्देहीको तिलोत्तमाका स्वास्थ्यकर्मीले दशैंमा पाएनन् तलब


पालिका पत्र

४ कार्तिक २०८०, शनिबार ०८:२९ मा प्रकाशित

बुटवल, ०४ कार्तिक । रूपन्देहीको तिलोत्तमका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेका १३ जना स्वास्थ्यकर्मी तलब विहीन भएका छन् । समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरूले गत १ साउन देखिएको तलब भत्ता पाउन नसकेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले उनीहरूलाई हाजिरी गराए पनि तलव खुवाउन भने आलटाल गरिरहेको छ । दशैंको मुखमा साउन देखिकै तलब रोकिदा उनीहरू भने विचल्लीमा परेका छन् । एक जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले नियतबस नै आफूहरूलाई दुख दिन खोजेको आरोप लगाए । ‘हामी सरकारकै कर्मचारी हौँ । समायोजन मिलान भई यहाँ आएका हौँ । काम काज पनि गर्दै आएका थियौँ ।

१ साउनदेखि दबरन्दी भन्दा बढीलाई तलव खुवाउन नसकिने भन्दै सरकारले काज फिर्ता गर्ने अभियान त चलायो तर ३० साउनमा पुन समायोजन मिलान भएका कर्मचारीहरूलाई यथास्थितिमा राख्दै तलव खुवाउन स्थानीय पालिकाहरूलाई निर्देशन दिएको छ ।


मन्त्रालयले नपुग भएका ठाउँमा कति नपुग भएको हो सो जानकारी गराउन समेत भनेको छ । तर हाम्रो नगरपालिकाले त्यो गरेकै छैन । मन्त्रालयबाट पठायो भने तलव दिईन्छ होइन भने दिईदैन भन्ने गरेका छन् प्रशासकीय अधिकृत,’ एक कर्मचारीले भने । हाजिरी गराएका कर्मचारीहरूलाई काममा लगाउने र तलव खुवाउने दायित्व पनि प्रमुख प्रशासकीय अधिकृतको हो भन्दै १३ जना कर्मचारीप्रति उनको व्यवहार पक्षपातपूर्ण रहेको ती कर्मचारीले बताए । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने सरकारले दरबन्दी भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको र अहिलेका १३ जना समायोजन मिलानका कर्मचारी भएपनि दरबन्दी भन्दा बढी रहेको बताए । उनले मन्त्रालयबाट तलव आएमा खुवाउन सक्ने अन्यथा नसक्ने कुरा कर्मचारीलाई स्पष्ट पारेको समेत बताए ।

‘हामीकहाँ ४५ जना स्वास्थ्यको दरबन्दी हो । उहाँहरू १३ जना दरबन्दी भन्दा बढिमा पर्नु हुन्छ । यसमा हामीले खुवाउन सक्ने कुरा भएन । मेयर उपमेयर सहित बसेको बैठकले गरेको निर्णय हो यो,’ उनले भने ।दशैंको बेलामा तलव नपाउँदा कर्मचारीहरूलाई अफ्टेरो लाग्नु स्वभाविक भए पनि आफू नियम विपरित काम गर्न नसक्ने अर्यालले बताए तिलोत्तमाकै एक कर्मचारीले भने समायोजन मिलान भई काम गरेका छिमेकी पालिकाहरूमा दनादन तलव पाइरहेको बताए । ‘हाम्रोमा विशेषगरी प्रमुख प्रशासकीय अधिकृतले ईगो साँधेर यो काम गर्नु भएको हो ।


यति बढी कर्मचारी छन् तलव नपुग भयो भनेर मन्त्रालयलाई जानकारी पनि नगराउने, दिएमा मात्रै खुवाउँछु भन्ने यो गैर जिम्मेवारी कुरा भयो,’ ती कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस्