जिससको वार्षिक समिक्षा : कपिलवस्तुकाे समृद्धिमा एकजुट हुन जनप्रतिनिधिहरुको आह्वान


२० कार्तिक २०८०, सोमबार १९:५१ मा प्रकाशित

कार्तिक २० गते । कपिलवस्तुका जनप्रतिनिधिहरुले प्रदेश र केन्द्रबाट आउने बजेट स्थानीय सरकारसँग समन्वय गरेर जनताका समस्या समाधान गर्न अनुकुल हुनेगरि आउनुपर्ने माग गरेका छन् । सोमबार जिल्ला समन्वय समिति कपिलवस्तुले आयोजना गरिएको साताै वार्षिक समीक्षा कार्यक्रमकाे पहिलाे दिनमा उनीहरूले यस्तो कुरामा जोड दिएका हुन् ।

केन्द्र र प्रदेश सरकारले स्थानीयका साना साना समस्यालाई नजिकबाट बुझ्न नसक्ने भएकाले स्थानीय सरकार सँग समन्वय र सहकार्य गरेर योजना तथा कार्यक्रमहरू ल्याउन सके प्रभावकारी हुने उनीहरूले जोड दिएका हुन् । भौतिक विकासले मात्र मुलुकको समृद्धिले पुर्णता नपाउने बताउंदै सामाजिक विकास, मानविय विकास तथा मानव संसाधनको विकासलाइ समेत संगसंगै लगेर मात्र समृद्ध कपिलवस्तुकाे साझा स‍‌कल्प पुरा हुने अभिव्यक्ति दिए ।

कार्यक्रममा जिल्लाका १० पालिका मध्ये ९ पालिकाले आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गरे, भने शुद्धोधन गाउँपालिकाले भने आन्तरिक विवादले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्न सकेन । तर पालिका प्रमुख कमलेश शरण चौधरीले भने पालिका भित्रको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिदिन सम्पुर्णमा आग्रह गरे ।

पालिकाहरूको प्रतिवेदन पछि कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले पालिकाहरूले प्रस्तुत गरेको प्रतिवेदन देखाउनको लागि मात्र प्रस्तुत गरिएको जस्तो भएको भन्दै आपत्ती जनाए । त्यस्तै उनले देश सङ्घीयतामा गएको धेरै समय नभएको भन्दै विकास र समृद्धिको पक्षमा धेरै महत्वकाङ्क्षी नहुन पनि सबैमा आग्रह गरे । हरेक ठाउँको विकासको लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

No description available.

त्यस्तै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले आफू पालिकाबाटै निर्वाचित भएर गएपनि पालिकाहरूले आफूहरूलाई बोलाएर योजना र कार्यक्रम बारे छलफल नगरेको भन्दै गुनासो गरे । प्रतिवेदनमा प्रस्तुत गरेका कयौँ कुराहरू कानुन सँग जोडिएको भन्दै त्यस्ता विषयलाई आफूहरूले केन्द्रमा लैजाने बताइन् । त्यस्तै उनले पालिकाहरूको प्रतिवेदनमा दिगो विकास सम्बन्धित विषयहरू नआएको भन्दै त्यस्ता विषयलाई समेटेर योजना र कार्यक्रमहरू ल्याउन पनि आग्रह गरिन् । त्यस्तै उनले महिला तथा लक्षित वर्गलाई समेटेर योजना तथा कार्यक्रम ल्याउन आग्रह गरिन् ।

No description available.

त्यस्तै प्रदेश सभा सदस्य अर्जुन केसीले स्थानीयको खुसी र सन्तुष्टिको लागि भौतिक विकास भन्दा पनि सामाजिक, सांस्कृतिक विकास गर्नुपर्ने बताए । तीन तहको सरकार मध्ये स्थानीय तहले विकासको अवरोधमा निर्मम भएर काम गर्न आवश्यक रहेको बताए । साथै उनले रोजगारी सिर्जना गर्नको लागि पर्यटनलाई आय आर्जन सँग जोड्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्रदेश सभा सदस्य नवराज लामिछाने (भुपाल)ले पूर्वाधार बनाएर मात्र विकास नहुने भन्दै नेपाल कृषि प्रधान देश भएकाले जल, जङ्गल र जमिनको विकास गर्नुपर्नेमा जोड दिए । त्यस्तै पालिकाहरूको विकासको लागि प्रदेशबाट हुने सहयोगमा आफू सधैँ तयार रहेको बताए ।

यता पालिकाहरूको प्रतिनिधित्व गर्दै बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जिल्लाको समग्र विकासको लागी १० वटै पालिकाहरूको सहकार्य आवश्यक रहेको बताए । उनले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले धेरै अपेक्षा रहेको बताए । नागरिकको अपेक्षा पुरा गर्न आफुहरु लागि परेको समेत उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू सबै उपस्थित नभएको भन्दै आगामी दिनमा अधिकांशलाई उपस्थिति हुन आग्रह गरे । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, समन्वय समिति उपाध्यक्ष रमेश कुर्मीको स्वागत तथा समन्वय अधिकारी भूमिराम पोख्रेलको सञ्चालनमा भएको थियो ।

उक्त कार्यक्रममा दश स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्