वेवील्याण्ड मन्टेश्वरी सञ्चालनमा


पालिका पत्र

२ फाल्गुन २०८०, बुधबार २०:३१ मा प्रकाशित


रमा भट्टराई, फागुन २ ।
कपिलवस्तुको बाणगङ्गा, १ चारनम्बर जितपुरमा वेवील्याण्ड मन्टेश्वरी स्कुल सञ्चालनमा आएको छ । वसन्त पञ्चमी एवम् सरस्वती पूजाको अवसरमा शैक्षिक सत्र २०८१ को लागि विद्यालयको समुद्घाटन तथा अक्षरारम्भको शुभारम्भ भएको हो । कार्यक्रमको अवसरमा ४० जना बालबालिकालाई भर्नागरी तथा अक्षरारम्भ गराइएको छ । 


कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरमा बढ्दो जनसङ्ख्याको चाप र अभिभावकको व्यस्त जीवन शैलीलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउनु सुखद रहेको बताए । मेयर अर्यालले वेवील्याण्ड मन्टेश्वरी विधि प्रयोगात्मक शैलीबाट शिक्षण पद्धतिलाई अवलम्बन गर्ने जिम्मेवारी बोध गरेर अगाडि बढ्नु पर्ने बताए । उनले अहिलेको आवश्यकताको माग पुरा गर्नलाई चार नम्बरमै सञ्चालनमा आएको मन्टेश्वरीलाई सफलताको शुभकामना व्यक्त गरे । 


यस्तै अक्षरारम्भ कार्यक्रममा नगर शिक्षा प्रमुख खिम बहादुर जि. सी.ले बालबालिकाको स्याहार तथा शिशु शिक्षामा गुणात्मक रुपमा ध्यानदिनुपर्ने बताए । उनले मन्टेश्वरीले सरल पद्धति अपनाएर शिक्षण गराउँदा बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने र ६ वर्ष भन्दा कम उमेरका बालबालिकाको मन्टेश्वरी विधिबाट सिकाइ प्रक्रिया पूर्ण हुने बताए । उनले मन्टेश्वरीमा स्वस्थ्य, पोषणयुक्त खानेकुरा मात्र प्रयोगमा ल्याउन आग्रह गरे । 


यस्तै, वेवील्याण्ड मन्टेश्वरी स्कुलकी प्रिन्सिपल कालिका पोख्रेलले विद्यालयको समग्र शैक्षिक गतिविधिको बारेमा जानकारी दिएकी थिइन । उनले विद्यार्थीहरूको समग्र पक्षलाई मध्यनजर गर्दै शिक्षालाई प्रयोगात्मक र व्यवहारिक पक्षलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन । उनले मन्टेश्वरी शिक्षा स्कुलको तयारीको लागि मात्र नभएर बालबालीका भविष्यका कर्णधार हुदाँ  भविष्यको तयारी रहेको कुरा पनि बताइन । 


कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सन्जु सारु मगर र प्याब्सन नगर समिति अध्यक्ष सुरेन्द्र पाण्डे, समाजसेवी बिष्णु थापा, दोलख बहादुर पछाई र टोप नारायण बेल्वासेको आतिथ्यता रहेको थियो ।


समुद्घाटन तथा अक्षरारम्भको शुभारम्भ कार्यक्रममा मोहन सिंजाली मगरको अध्यक्षता, शिक्षक विनिता आचार्यको स्वागत, शिक्षक विष्णु पन्त पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्