कपिलवस्तु नगरले १० महिनामा लक्ष्यको ५१ प्रतिशत राजश्व संकलन गर्यो


पालिका पत्र

९ जेष्ठ २०८१, बुधबार २०:२० मा प्रकाशित

जेठ ९ गते । देशकै पुरानो नगरपालिका मध्येको एक कपिलवस्तु नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २ करोड २१ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरले १० महिनामा लक्ष्यको ५१ प्रतिशत राजस्व संकलन गरेको हो ।

विश्वव्यापी रुपमा आर्थिक मन्दीका बेला नगरले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २ करोड २१ लाख ८९ हजार ७३१ रुपैयाँ ३८ पैसा राजस्व संकलन गरेको हो । कपिलवस्तु नगरले चालु आवमा ४ करोड ३७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा २ करोड २१ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको कपिलवस्तु नगरपालिकाका राजस्व शाखाले जनाएको छ ।

नगरले सम्पत्ति करबाट ४३ लाख ८७ हजार, भूमिकर तथा मालपोत करबाट २७ लाख १५ हजार, घर जग्गा बहाल करबाट २९ लाख ७ हजार, बहाल बिटोरी करबाट १३ लाख ७ हजार, सिफारिस दस्तुरबाट २१ लाख २९ हजार संकलन भएको जनाएको छ ।

यस्तै, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २० लाख ७६ हजार, सरकारी सम्पत्ति बहालबाट ७३ हजार, पार्किङ्ग शुल्कबाट १५ लाख ७६ हजार, नक्सा पास दस्तुरबाट ७ लाख ९८ हजार र प्रशासनिक दण्ड जरिवानाबापत १० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको राजश्व शाखा प्रमुख योगेन्द्रनाथ शुक्लाले बताए ।

नगरपालिकाका लेखापाल रमा आचार्यका अनुसार चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुंगा, गिट्टी, बालुवा निकासी ठेक्का समयमा लगाउन नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न ढिलाई हुनु लगायत कारणले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको छ ।

प्रतिक्रिया दिनुहोस्