पाल्पाका पालिकालाई चार अर्ब ५७ करोड बजेट


पालिका पत्र

२१ जेष्ठ २०८१, सोमबार २०:२३ मा प्रकाशित

पाल्पा, जेठ २१ । पाल्पाका १० स्थानीय तहलाई सङ्घीय सरकारले चार अर्ब ५७ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई नगरपालिकालाई एक अर्ब ४८ करोड ७३ हजार र आठ गाउँपालिकालाई तीन अर्ब नौ करोड १२ लाख गरी चार अर्ब ५७ करोड ८५ लाख विनियोजन भएको हो ।

उक्त रकममध्ये समानीकरण अनुदान एक अर्ब ९८ लाख, सशर्त अनुदान तीन अर्ब ३९ करोड ८२ लाख, विशेष अनुदान सात करोड ८५ लाख र समपूरक अनुदानमा नौ करोड २० लाख रहेको छ । कुल विनियोजित बजेट चालु आर्थिक वर्ष २०८०/८१ मा भन्दा ४१ करोड ४० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षमा सङ्घबाट जिल्लाका स्थानीय तहलाई चार अर्ब १६ करोड ४५ लाख विनियोजन भएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार तिनाउ गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकाले बजेट गतवर्ष भन्दा केही कम र अन्य पालिकाले बढी रकम प्राप्त गर्ने भएको छ ।

त्यसैगरी, सबैभन्दा बढी बजेट पाउनेमा तानसेन नगरपालिका छ । तानसेनले ९९ करोड ७० लाख प्राप्त गर्ने विवरणमा उल्लेख छ । जसमध्ये समानीकरण अनुदानमा १५ करोड ४१ लाख, सशर्त अनुदान ८१ करोड ४ लाख, विशेष अनुदानमा १ करोड ५५ लाख र समपूरक अनुदान १ करोड ७० लाख रहेको छ । रामपुर नगरपालिकाले समानीकरण अनुदान १२ करोड ६ लाख, सशर्त अनुदान ३५ करोड ६२ लाख र समपूरक अनुदानमा १ करोड ३५ लाख गरी जम्मा ४९ करोड ३ लाख प्राप्त गर्ने भएको छ । तिनाउ गाउँपालिकाले समानीकरण अनुदानमा ८ करोड ६२ लाख, सशर्त अनुदान २२ करोड २९ लाख र विशेष अनुदानमा ५० लाख गरी ३१ करोड ४१ लाख प्राप्त गर्ने भएको छ ।

निस्दी गाउँपालिकाले ३८ करोड ३४ प्राप्त गर्ने विवरणमा उल्लेख छ । जस मध्ये समानीकरण अनुदानतर्फ ९ करोड १७ लाख, सशर्त अनुदान २७ करोड ६७ लाख र समपूरक अनुदानतर्फ १ करोड ५० लाख छ । यस्तै पूर्वखोला गाउँपालिकाले ३१ करोड ८१ प्राप्त गर्नेछ । जसमध्ये समानीकरण अनुदानतर्फ ८ करोड ६३ लाख, सशर्त अनुदान २१ करोड ८८ लाख र विशेष अनुदान १ करोड ३० लाख छ ।

बगनासकाली गाउँपालिकाले समानीकरण अनुदानमा ९ करोड २४ लाख, सशर्त अनुदान २३ करोड ६१ लख र समपूरक ६५ लाख गरी ४२ करोड ४७ लाख प्राप्त गर्ने भएको छ । माथागढी गाउँपालिकाले समानीकरण अनुदानमा १० करोड ३ लाख, सशर्त अनुदान २७ करोड ३६ लाख र विशेष अनुदान १ करोड गरी ३८ करोड ३९ लाख प्राप्त गर्ने भएको छ । रम्भा गाउँपालिकाले समानीकरण अनुदान ८ करोड ८९ लाख, सशर्त अनुदान २३ करोड १ लाख र विशेष अनुदान ५० लाख गरी ३२ करोड ४० लाख प्राप्त गर्ने भएको छ । रिब्दीकोट गाउँपालिकाले समानीकरण अनुदान ८ करोड ६६ लाख, सशर्त अनुदान २७ करोड ३० लाख, विशेष अनुदान ३ करोड र समपूरक १ करोड गरी ३९ करोड ९६ लाख प्राप्त गर्ने उल्लेख छ ।

त्यस्तै रैनादेवी छहरा गाउँपालिकाले ५४ करोड ३४ लाख प्राप्त गर्ने उल्लेख छ । जसमा समानीकरण अनुदानमा १० करोड २७ लाख, सशर्त अनुदान ४१ करोड ७ लाख, समपूरकतर्फ ३ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्