४२ लाखभन्दा बढी राजस्व सङ्कलन गर्दै वडा नं. ८ सम्मानित, जनता मा.वि.लाई विशेष सम्मान


पालिका पत्र

२५ पुष २०८१, बिहीबार २१:३३ मा प्रकाशित


बोर्डगाँउ, पुस २५ । बाणगंगा नगरपालिकाको १६औं नगरसभा बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन प्रगति, आगामी योजना, र समग्र नगरको विकासका विषयमा छलफल भएको थियो ।

नगरसभामा बाणगंगा नगरपालिका वडा नं. ८ लाई आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वडाको रूपमा सम्मानित गरिएको छ । वडा नं. ८ ले कुल ४२ लाख ४६ हजार ३ सय ९४ रुपैयाँ राजस्व सङ्कलन गरी नगरभित्र उत्कृष्ट प्रदर्शन गरेको छ ।

नगरप्रमुख चक्रपाणी अर्यालले वडाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नगरवासीको आर्थिक सक्रियता र स्थानीय प्रशासनको समन्वयले राजस्व संकलनमा सुधार भएको बताए । वडा नं. ८ का जनप्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गर्दै नगरप्रमुखले अन्य वडाहरूले पनि उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

नगरसभा दौरान नगरप्रमुख अर्यालले नगरपालिकाको समग्र आर्थिक स्थिति, विकास निर्माणका प्रगतिहरू, र आगामी योजनाहरूको बारेमा जानकारी गराएका थिए । नगरले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आर्थिक आत्मनिर्भरता तर्फको यात्रा अघि बढाउने प्रतिबद्धता जनायो ।

राजस्व संकलनको सफलता नगरपालिकाको विकास र सेवा प्रवाहमा थप ऊर्जा बन्ने विश्वास गरिएको छ। सम्मानित वडा नं. ८ का जनप्रतिनिधिहरूले यस सफलतामा सहयोग गर्ने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिएका छन् ।

यसैविच
नगरसभामा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने जनता माध्यमिक विद्यालय, पिपरालाई विशेष सम्मान प्रदान गरिएको छ।नगरपालिकाले उत्कृष्ट शिक्षा प्रदानमा उल्लेखनीय भूमिका खेलेको भन्दै जनता मा.वि. पिपरालाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको हो । विद्यालयलाई सम्मानपत्र प्रदान गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै नगरको शैक्षिक विकासमा योगदान पुर्‍याएकोमा विद्यालय परिवारलाई बधाई दिए।

नगरप्रमुखले शिक्षा क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै, अन्य विद्यालयहरूले पनि गुणस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । जनता मा.वि. पिपराका प्रतिनिधिहरूले सम्मानप्रति आभार व्यक्त गर्दै विद्यालयलाई अझ प्रभावकारी र नमुना बनाउन प्रतिबद्ध रहेको बताए। नगरसभामा शिक्षा, पूर्वाधार, र विकासका अन्य महत्वपूर्ण विषयमा छलफल गरिएको थियो । ।

नगरपालिकाले शिक्षामा योगदान पुर्‍याउने संस्थाहरूलाई प्रोत्साहित गर्दै गुणस्तरीय शिक्षामा पहुँच बढाउने योजनामा काम गरिरहेको जानकारी नगरसभा मार्फत गराइएको छ।

प्रतिक्रिया दिनुहोस्