माघ ५ गते । कपिलवस्तु सदरमुकाम तौलिहवा लगायतका आसपासमा वेवारिसे अवस्थामा रहेका छाडाचौपायाको ब्यवस्थापन कार्यको सुरुवात भएको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि कपिलवस्तु नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।
बिशेषत्ः सडक, चोकचौराहा एवम् खेतबारीमा अस्तब्यस्त रहेका छाडाचौपायाको व्यवस्थापनका लागि नगरपालिकाले पछिल्लो समयमा पहल सुरु गरेको हो । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताए ।
जिल्लाको बाणगंगा नगरपालिकाको गौशालामा तत्कालका लागि छाडा चौपायाको व्यवस्थापन गर्न लागिएको छ । सो क्षेत्रमा यहाँका ८ ट्रक छाडा चौपायालाई शनिबार पठाइएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरी उक्त क्षेत्रमा राख्न थालिएको पौडेलले जानकारी दिए ।
नगरका विभिन्न क्षेत्रबाट करिब चारसय छाडाचौपाया एकत्रित गरिएको थियो । किसानहरुले लगाएको बालि छाडाचौपायाले खाएर स्याहार्न नपाएको भन्दै नियन्त्रणका लागि दवाव बढेपछि पालिकाले यसअघि वडा नम्बर ३ चप्परतल्ला र वडा नम्बर ८ दोहोनीमा व्यवस्थापन सुरु गरेको थियो ।
बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाबीचको सहकार्यमा छाडाचौपाया ब्यवस्थापनको कार्यको शुरुवात भएको हो । अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाले जनाएको छ ।
छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, खेतबाली लगायतमा नोक्सानी भएको छ । भारतबाट छाडा गाईगोरुको प्रवेश नियन्त्रणका लागि प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने सरोकारवालाले जनाएका छन् ।