बाणगंगा, २५ माघ – सरकारले रुपन्देहीको सैनामैना नगरपालिका–१०, एकला पहाड क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले खोरमोर नदी उकास क्षेत्रअन्तर्गत ३.५ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो ।
यो निर्णयसँगै वर्षौंदेखि भोगाधिकार अभावका कारण रोकिएको फोहोर व्यवस्थापन योजना अघि बढ्ने भएको छ । पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीको कार्यकालमा सुरु भएको यो परियोजना स्वीकृत नभएकै कारण अवरुद्ध थियो ।
निर्णयपछि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण कार्य अघि बढ्नेछ । छ वर्षअघि नै यी निकायहरूबीच सहमति भइसकेको भए पनि आवश्यक स्वीकृति प्राप्त नभएकाले काम अघि बढ्न सकेको थिएन।
फोहोर प्रशोधन केन्द्रले जैविक फोहोरबाट बायोग्यास, प्लास्टिकबाट दाना, तथा जैविक मल उत्पादन गर्ने योजना रहेको छ । परियोजना निर्माणका लागि २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंकले पनि ऋण लगानी गर्ने चासो देखाएको छ ।
परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृत भइसकेको छ, साथै निर्माणस्थलमा रहेका १६४ वटा रुख हटाइसकिएको छ । निजी क्षेत्र पनि परियोजनामा संलग्न हुन इच्छुक रहेको जनाइएको छ ।