यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यशाला


पालिका पत्र

२९ माघ २०८१, मंगलवार १०:४४ मा प्रकाशित

माघ २९ । किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सवलीकरण (समसारा) परियोजनाका कार्यक्षेत्रका १५ सञ्चारकर्मीलाई लुम्बिनीमा तीन दिने कार्यशाला सम्पन्न गरिएको छ । एम्लिफाई चेन्जको आर्थिक सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका ३३ पालिकामा ३० महिना सम्म सञ्चालनमा आएको परियोजना बारे जानकारी दिन कार्यशाला आयोजना गरिएको थियो ।

कार्यशालामा सञ्चारकर्मीलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ मा भएका व्यवस्थाहरु, ऐन कार्यान्वयनको अवस्था र चुनौती, लैङ्गिक हिंसा, बालविवाह, किशोर किशोरी र युवामैत्री सेवा, सुरक्षित सुत्केरी सेवा, गर्भ परीक्षण, गर्भपतनका कानुनी व्यवस्था, दाईजो, बहुबिवाह, प्रजनन स्वास्थ्य अधिकारका सवाल र सम्बोधनका उपाय, सञ्चार क्षेत्रले प्रजनन स्वास्थ्य अधिकारको बिषय उठान गर्न खेल्नुपर्ने भूमिकाबारे सहजिकरण गरिएको थियो । सहजकर्ता जेसी स्पेसलिस्ट तथा सञ्चारकर्मी रिमा बिसी, अधिवक्ता गोमती सुनारले कार्यशालाको सहजीकरण गरेका थिए ।

कार्यक्रममा समसारा परियोजनाका टिम लिडर अभिनव चौधरी, कपिलवस्तु संयोजक अनिल घर्ती, नवलपरासी संयोजक दिलु श्रेष्ठले परियोजनाका कार्यक्रम बारे जानकारी दिएका थिए भने कालिकाका कार्यक्रम संयोजक निशान्त कुँवरले संस्थाका कार्यक्रमको जानकारी दिएका थिए ।

परियोजनाका संयोजक अभिनव चौधरीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ को कार्यान्वयनको बातावरण निर्माण, सरोकारवालाको सशक्तिकरण, युवामैत्री वातावरणका लागि वकालत, मुद्दामा आधारित अभियान, वकालत कार्यशाला, मिडिया अभियान र स्वास्थ्य संस्था सुदृढिकरणका क्षेत्रमा रणनितीक रुपमा काम गरिने स्पष्ट पारे । परियोजनाले सञ्चार क्षेत्र सँग समन्वय गरेर बिषय केन्द्रित नितीगत सुधारका लागी पहल गर्ने उनको भनाई थियो ।

लैङ्गिक हिंसा उन्मुलन र युवा तथा किशोराको स्वास्थ्य सेवामा पहुँच बृद्धि गराउने गरी परियोजना कार्यान्वयनमा लगिने कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । सञ्चार क्षेत्रको सहकार्यमा यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्यका मुद्दाहरु सम्बोधन गर्न तिनै तहका सरकार सँग नीति कार्यान्वयन र आवश्यताका आधारमा संसोधनका लागि वकालत गरिने कार्यकारी निर्देशक रावलले जानकारी दिए । संंस्थाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, जिविकोपार्जन र नागरिक शिक्षालाई नागरिकको सरोकारको बिषय बनाउने गरी कार्य सम्पादन गरेको उनको भनाई थियो ।

कार्यशाला आयोजनाले तिनै जिल्लाका प्रजनन स्वास्थ्यका सवाल र मुद्दा उठानमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कालिकाका अध्यक्ष मन्दिप सिंहको भनाई थियो ।

समापन कार्यक्रममा अध्यक्ष सिंह, संस्थाका सदस्य गोपाल भण्डारी, कार्यकारी निर्देशक रावल, सहजकर्ताहरु, परियोजना कर्मचारी र तीन जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्