नेपालमा अस्वस्थ जीवनशैलीले बढायो नसर्ने रोगको जोखिम


पालिका पत्र

२३ चैत्र २०८१, आईतवार ११:१३ मा प्रकाशित

कपिलवस्तु, चैत्र २४ । नेपालमा बदलिँदो जीवनशैली, विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि र वातावरणीय प्रदूषणका कारण नसर्ने रोगको जोखिम दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

शनिबार स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आयोजना गरेको अभिमुखीकरण, सचेतना तथा अन्तरक्रिया कार्यक्रममा यस्ता रोगहरूको अवस्था र न्यूनीकरणका उपायबारे जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालयका रतनलाल शर्माले पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमजस्ता रोग तीव्र रूपमा बढेको बताए । सन् २०१७ को तथ्याङ्क अनुसार विश्वभर मृत्यु हुनेमध्ये ७१ प्रतिशत मानिसको ज्यान नसर्ने रोगका कारण गएको उल्लेख गर्दै उनले रोग नियन्त्रणका लागि जीवनशैली सुधार अपरिहार्य भएको धारणा राखे ।

उनका अनुसार नेपालमा नसर्ने रोगको मुख्य कारण पाँचवटा छन् — अस्वस्थकर भोजन, सुर्तीजन्य पदार्थ सेवन, वायु प्रदूषण, मादक पदार्थको प्रयोग र शारीरिक निस्क्रियता । यी कारणहरूले नसर्ने रोगहरू तीव्र गतिमा बढ्न थालेका हुन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले वर्तमान जीवनशैली परिवर्तन नभए आगामी ३० वर्षमा नेपालले क्यान्सरका बिरामी धान्नै नसक्ने अवस्था आउन सक्ने चेतावनी दिए । उनले खासगरी जंकफुड र शारीरिक निष्क्रियता यसका प्रमुख कारण भएको बताए ।

ढकालले जिल्लाका १० विद्यालयलाई जंकफुड निषेधित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको जानकारी पनि दिए । साथै कपिलवस्तुलाई पूर्ण खोपयुक्त, पोषणमैत्री तथा संस्थागत सुत्केरी सेवा सुनिश्चित गर्ने लक्ष्य लिइएको जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले सञ्चारकर्मीहरूलाई रोग प्रतिकार्य तथा स्वास्थ्य जनचेतनामूलक सामग्री प्रकाशनमा सक्रिय हुन आग्रह गरे । उनले जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका गतिविधिमा सञ्चारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्