बाणगंगा, २१ असार ।
बाणगंगा नगरपालिकाका नागरिकलाई विगत एक दशकदेखि निःशुल्क आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आएको बाणगंगा आयुर्वेद औषधालय अब आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन हुने भएको छ । सीमित पूर्वाधारबाट सेवा दिँदै आएको औषधालयले आधुनिक भवन पाएसँगै आयुर्वेद स्वास्थ्य सेवाले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
बिहीबार बाणगंगा नगरपालिका-८ बालापुरमा आयोजित कार्यक्रममा औषधालयको नयाँ भवनको शिलान्यास गरिएको हो। नगरपालिकाका वडा नं. ८ का अध्यक्ष बाबुराम अर्याल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो ।
२०७१ सालमा जलेश्वरधामबाट स्थापना भएको बाणगंगा आयुर्वेद औषधालयले हालसम्म हजारौं नागरिकलाई निःशुल्क औषधि, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएको छ। सुरुवातदेखि नै सीमित भौतिक संरचनाका बीच सञ्चालन हुँदै आएको औषधालय अब आफ्नै भवनमा स्थानान्तरण हुने भएपछि सेवा प्रवाह थप व्यवस्थित हुने विश्वास गरिएको छ ।
१ करोड ४६ लाख लागतमा निर्माण हुँदै भवन
नयाँ भवन निर्माणको जिम्मा श्री जय श्री मा वैष्णे कन्ट्रक्सन सप्लायर्स प्रा.लि. कृष्णनगर नगरपालिका–८ कपिलवस्तुले पाएको छ । सम्झौताअनुसार १ करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन २०८३ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवन निर्माणपछि उपचार कक्ष, औषधि भण्डारण, बिरामी परामर्श, स्वास्थ्य सचेतना कार्यक्रम तथा प्रशासनिक व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
दैनिक ४० देखि ५० सेवाग्राहीको पहुँच
औषधालय प्रमुख तेज सोमैका अनुसार हाल औषधालयबाट दैनिक ४० देखि ५० जनासम्म सेवाग्राहीले आयुर्वेद उपचार सेवा लिँदै आएका छन् ।
औषधालयले नेपाल सरकारले उपलब्ध गराउने ३५ प्रकारका आयुर्वेदिक औषधि वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण, जीवनशैली सम्बन्धी परामर्श र विभिन्न रोगको उपचार गर्दै आएको छ ।
यहाँ पायल्स, फिसर, फिस्टुला, ग्यास्ट्रिक, अरुचि, कब्जियत, जन्डिस, बाथ रोग, युरिक एसिड, हड्डी खिइने समस्या, नसा च्यापिने समस्या, मधुमेह, उच्च रक्तचाप, यौन कमजोरी, शीघ्र स्खलन तथा महिलासम्बन्धी समस्या जस्तै सेतो पानी बग्ने, महिनावारी गडबडी र बाँझोपन लगायतका समस्याको उपचार हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
विशेषगरी दीर्घरोग, जोर्नी दुखाइ, ग्यास्ट्रिक, छालासम्बन्धी समस्या तथा जीवनशैलीजन्य रोगबाट प्रभावित नागरिकले आयुर्वेद सेवाबाट लाभ लिँदै आएका छन् ।
आयुर्वेदलाई मूलधारको स्वास्थ्य सेवासँग जोड्नुपर्ने जोड
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बाबुराम अर्यालले आयुर्वेद नेपाली समाजको मौलिक चिकित्सा परम्परा भएको बताउँदै यसको संरक्षण र विस्तार स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
“बाणगंगा आयुर्वेद औषधालयले लामो समयदेखि नगरवासीलाई निःशुल्क सेवा दिँदै आएको छ। आफ्नै भवन निर्माण भएपछि सेवा अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बन्नेछ,” उहाँले भन्नुभयो ।
उहाँले वडा नं. ८ मा नगरस्तरीय आयुर्वेद अस्पतालको अवधारणालाई निरन्तरता दिँदै भविष्यमा थप विशेषज्ञ सेवा विस्तारका लागि पहल गरिने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आयुर्वेद स्वास्थ्य प्रणालीलाई आधुनिक स्वास्थ्य सेवाको महत्वपूर्ण विकल्प र पूरकका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् । रोग लागेपछि उपचार गर्ने मात्र होइन, रोगबाट बच्ने जीवनशैली र प्राकृतिक चिकित्सा प्रणालीलाई प्रवर्द्धन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले भवन निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै गुणस्तरीय निर्माणमा नगरपालिकाले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
भवनसँगै सेवाको दायरा बढ्ने अपेक्षा
स्थानीयवासीले आफ्नै भवन निर्माणसँगै आयुर्वेद सेवाको पहुँच अझ विस्तार हुने अपेक्षा गरेका छन् । व्यवस्थित उपचार कक्ष, औषधि भण्डारण, परामर्श सेवा र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालनमा सहजता आउने उनीहरूको विश्वास छ ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आयुर्वेद सेवाको पूर्वाधार निर्माणमा गरेको लगानीले परम्परागत तथा वैकल्पिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
भवन निर्माण सम्पन्न भएपछि बाणगंगा आयुर्वेद औषधालयले आधुनिक व्यवस्थापनसहित थप प्रभावकारी सेवा विस्तार गर्दै नगरवासीको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।



