भोटेकोशी बाढीपीडितका लागि उद्योग व्यापार संघ कपिलवस्तुले गर्‍यो १ लाख बढी सहयोग


पालिका पत्र

31 August, 2026 9:27 pm मा प्रकाशित

जितपुर, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला उद्योग व्यापार संघ कपिलवस्तुले विपद् प्रभावित नागरिकका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सोमबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतममार्फत रकम बैंक दाखिला गरिएको संघले जनाएको छ ।
पछिल्लो समय व्यवसायीहरू स्वयं आर्थिक संकट र बजारको सुस्तताबाट प्रभावित भइरहेका छन् । तर, देश नै गम्भीर विपद्मा परेका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग जुटाएको संघले जनाएको छ ।


रकम हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी गौतमले व्यवसायीहरू पनि संकटमा रहे पनि राष्ट्रिय संकटका बेला सबै पक्ष सहयोगका लागि अघि बढ्नुपर्ने बताए । ‘व्यवसाय पनि संकटमा छन्, तर देशमा महा संकट परेको बेला यसरी सहयोगमा जुट्नु आवश्यक छ,’ उनले भने ।
संघका अध्यक्ष टोपनारायण बेल्बासेले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत र सहयोगका लागि रकम उपलब्ध गराइएको बताए । उद्योगी तथा व्यवसायीसँग सहकार्य गरी रकम संकलन गरिएको उनको भनाइ छ ।


विपद्का बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले सरकारी उद्धार तथा राहत प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । सहयोग रकम बैंक दाखिला गर्ने क्रममा संघका विभिन्न पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्