भलवाड, भदौ १६ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुर, भर्लाबासस्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय विकास, शिक्षा र उपभोक्ताको आयआर्जनलाई प्राथमिकतामा राख्ने योजना अघि सारेको छ । “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ समूहको २७औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आगामी कार्यदिशाबारे जानकारी गराइएको हो ।
साधारणसभामा समूहकी सचिव शुस्मा क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले वन संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराइन् । कोषाध्यक्ष माधुरी सेन ओलीले आर्थिक वर्ष २०८२/०८३ को १ करोड १३ लाख ८४ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरिन् ।
२ सय १८ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलीचौर सामुदायिक वनबाट ४ सय ७४ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन् । वन उपभोक्ताका लागि काठ, दाउरा तथा अन्य वनजन्य स्रोतको उपयोगसँगै भू–संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय जीविकोपार्जनमा वनले योगदान पुर्याउँदै आएको समूहको दाबी छ ।
समूहका अध्यक्ष कुन्तामणि भुसालले आगामी दिनमा वन संरक्षणलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको हित र स्थानीय विकासलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार सामुदायिक वन केवल वन पैदावारको स्रोत नभई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोडिएको साझा सम्पत्ति भएकाले यसको दिगो व्यवस्थापनमा सबै उपभोक्ताको सहभागिता आवश्यक छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभातविक्रम सापकोटाले सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहेको बताए । वनबाट प्राप्त स्रोतलाई संरक्षणमा मात्रै सीमित नराखी उत्पादनमूलक तथा आयआर्जनका क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ थियो ।
कोइलीचौर सामुदायिक वनले वन संरक्षण तथा व्यवस्थापनमा उत्कृष्ट काम गर्दै राष्ट्रिय स्तरको गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको उल्लेख गर्दै सापकोटाले समूहको प्रशंसा गरे । पुरस्कारले वन संरक्षणमा समूहले गरेको कामको राष्ट्रिय स्तरमै पहिचान भएको बताउँदै उनले आगामी दिनमा संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।
वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले कोइलीचौर सामुदायिक वन जिल्लाकै इतिहास बोकेको महत्वपूर्ण वन क्षेत्र भएको बताए। वनले वाणगंगा–९ को भू–संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले सामुदायिक वन र वडा कार्यालयबीच थप समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
साधारणसभामा अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, पत्रकार बाबुराम रायमाझी, समाजसेवी तथा सामुदायिक वनका सल्लाहकार नारायण खनाल, भलवाड सिकाइ केन्द्रका अध्यक्ष दीपक कुँवरलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले सामुदायिक वनले वातावरण संरक्षणसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।
वनसँगै शिक्षामा पनि लगानी
साधारणसभाको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत ११ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरूप शैक्षिक सामग्री प्रदान गरिएको थियो । यसले समूहले वन संरक्षणबाट प्राप्त स्रोत तथा संस्थागत सामाजिक उत्तरदायित्वलाई शिक्षा क्षेत्रमा समेत जोड्न थालेको देखाउँछ ।
समूहका अनुसार आगामी दिनमा वन संरक्षणसँगै उपभोक्ताको आयआर्जन, सामाजिक विकास र शिक्षा क्षेत्रमा गरिने लगानीलाई निरन्तरता दिइनेछ। यसका लागि वन स्रोतको दिगो उपयोग र उपभोक्ताको सहभागितालाई प्राथमिकतामा राख्ने समूहको योजना छ ।
कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष देवबहादुर श्रीसको स्वागत तथा समूहकी सचिव शुस्मा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । अध्यक्ष भुसालले साधारणसभा सफल बनाउन सहयोग गर्ने उपभोक्ता, अतिथि, सरोकारवाला तथा सहभागीलाई धन्यवाद व्यक्त गरे ।

