विविध पक्षबीच बाणगंगा नगरपालिकाको बार्षिक समिक्षा गोष्ठीमा छलफल


appharu

२७ भाद्र २०७९, सोमबार १९:५६ मा प्रकाशित

पालिकापत्र, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को बार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । ठाकुरापुरमा अवस्थित पिस हिमालयन रिसोर्टमा नगरले बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले समग्र बाणगंगा नगरपालिकाको परिचय, राजनितिक एवम् प्रशासनिक विभाजन, व्यापारिक एवम् धार्मिक, पर्यटकिय स्थल, योजनाहरु र कार्यान्वयनको अवस्था आदि विषयवस्तुको बारेमा स्पष्ट पारेका थिए ।

उनले एक विवरण प्रस्तुत गर्दै नगरपालिकाका समग्र विषयवस्तुको बारे स्पष्ट पारेका हुन् । नगरपालिकाका मूलभुत समस्या एवम् चुनौति, समाधानका उपाय, अवसर प्रस्तुत गर्दै संघ, प्रदेश र जिल्ला समन्वय समितिसंग गरिएका विभिन्न किसिमका अपेक्षाहरु समेत उल्लेख गरे ।

कार्यक्रममा सहभागीले छाडा पशुचौपाया व्यवस्थापन, बसपार्क निर्माण, प्राकृतिक स्रोत साधनको उचित उपयोग, पर्यटकिय स्थलको प्रवर्धन, कृषि, स्वास्थ्य क्षेत्रमा नगरपालिकाले उचित ध्यान दिन नसकेको गुनासो गरे ।

मेयर चक्रपाणी अर्यालले गुनासोसंगै विभिन्न महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउँदै ती सबैलाई आगामी दिन मनन गरेर समावेश गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

उनले नगरको विकास र समृद्धिसंग जोडिएका सुझाव नगरका लागि फलदायक हुने दाबी गरे । कोरोना महामारीसंगै योजना निर्माणका लागि जिम्मा पाएका निर्माण कम्पनी तथा ठेकेदारहरुले काम गर्न नसक्दाँ नगरको आर्थिक बर्षमा २०७८/७९ मा ७८ प्रतिशतको हाराहरीमा बजेट खर्च गर्न सकिएको बताए । उनले यसरी कामको जिम्मा पाएर काम नगर्ने माथि कानुनी उपचारका लागी प्रक्रियामा जाने चेतावनी समेत दिए ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले विकास विरोधीलाई निरुत्साहित गर्नुपर्ने बताए । प्रदेशको सार्वजनिक लेखा समितिका संयोजक समेत रहेका पन्थीले केही व्यक्तिहरु बाणगंगाको विकासका लागि विभिन्न विकास निर्माणका काम अघि बढाउदाँ मुद्धा मामिला गरेर अनेक अराजक गतिविधिमा संलग्न भएको आरोप लगाए । कोईली नदीमा पुल बन्न नसकेको सन्दर्भलाई उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बाणगंगा जनसंख्या वृद्धिदर क्रमश बढ्दै गएको बताए । यसलाई धान्नको लागि सार्वजनिक जग्गा जमिन अतिक्रमणको कामलाई रोक्न आवश्यक रहेको उनको भनाई छ । उनले अहिले नै व्यवस्थित संरचना निर्माण नगरे निकट भविष्यमा नै ठूलो चुनौति थपिने दाबी गरे ।

पूर्व मेयर मंगलप्रसाद थारुले नगरको विकासका लागि सबै एकजुट हुन आवश्यक रहेको बताए । उनले जनताको जनजीविकासंग प्रत्यक्ष जोडिएका विषयमा नगरले चासो दिनुपर्ने बताए । सिद्धार्थ क्याम्पस बुङ्चीका क्याम्पस प्रमुख खेमराज शर्माले शैक्षिक अनुसन्धानको क्षेत्रमा नगरपालिकाले ध्यान नदिएको गुनासो गरे ।

जनताले स्थानीय सरकार भएको प्रत्यक्ष अनुभूति गर्ने गरि नगरपालिकाले काम गर्नुपर्ने उनको भनाई छ । पत्रकार हरि अधिकारले कार्यक्रम संचालन गर्दा समयलाई ध्यानमा राखेर समयमै संचालन गर्ने प्रवृत्तिको थालनी गर्नुपर्ने बताए ।

मेयर चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्