गाउँपालिका अध्यक्षले बजेटमा एकलौटी गरेको उपाध्यक्षले लगाइन् आरोप


पालिका पत्र

१० असार २०७८, बिहीबार ०६:४२ मा प्रकाशित

हेटौंडा ।
मकवानपुरको बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानले अध्यक्षले एकलौटी ढंगले काम गरेको भन्दै बजेट सिलिङको बैठक बहिष्कार गरेकी छिन्।

गाउँपालिकाको अध्यक्ष सर्केश घलानले एकलौटी ढंगले काम गरेको भन्दै उपाध्यक्ष स्याङ्तानले नोट अफ डिसेन्ट लेखेर बैठक बहिष्कार गरेकी हुन्। असार १० गते भोलि बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा जुट्दा अध्यक्षले एकलौटी ढंगले काम गरेको भन्दै आफूले बैठक बहिष्कार गरेको स्याङ्तानले बताइन्।

‘ मैले माग गरेको कुनै पनि कार्यक्रम बजेटमा पारिएको रहेनछ। न्यायिक समितिलाई समेत आवश्यक पर्ने बजेट पर्याप्त छैन। लक्षित वर्गका लागि पनि बजेटको व्यवस्था गरिएको छैन। मसँग सल्लाह नै नगरी एक्कासि एकलौटी ढंगमा बजेट बनाएको रहेछ, यो कुरा म मान्दिनँ,’ उनले भनिन्।

स्याङ्तानले गाउँपालिकाको अध्यक्ष सर्केश घलानले आफूले भनेको कार्यक्रममा एकरदुई करोड बजेट माग गरेको भए पनि अध्यक्षले केही लाख रुपैयाँ मात्रै विनियोजन गरेको आरोप लगाइन्।

अरु बेलामा पनि अध्यक्षले आफूसँग सल्लाह नगरी मनोमानी ढंगले काम गर्दै आएको उनको आरोप छ। स्याङ्तानले अध्यक्ष घलानले आफूलाई फरक पार्टी र महिला भएको कारण बाहेस गरेर काम गर्ने गरेको गुनासो गरिन्।

उपाध्यक्षको संयोजकत्वमा बजेट योजना तर्जुमा समिती रहेको भएपनि अध्यक्षले समितिसँग समन्वय नगरी आफु एक्लैले बजेट ल्याउन लागेको उनले बताइन्। ‘समिति त नाम मात्रैको भयो। काम जति सबै अध्यक्षले एक्लै गरेपछि समितिमा रहेको हामी त गएर उनको निर्णयमा हस्ताक्षर गरेर सहमति जनाउने मात्रै रहेछौं। ​उहाँले अहिलेसम्म एकपटक पनि बोलाएर छलफल गर्नुभएन, एकैचोटी बजेट सिलिङ पेस गर्नुभयो। त्यसमा सबै आफ्नो योजना मात्रै समेटिएको रहेछ। त्यसैले मैले आफ्नो हस्ताक्षर आफैं काटेर नोट अफ डिसेन्ट लेखेर निस्किएँ,’ उनले भनिन्।

गाउँपालिकाले आगामी आवका लागि कुल ५२ करोड ६७ लाख बजेट ल्याउन लाग्दा पनि आफ्नो योजनालाई नसमेटेको भन्दै उनले असन्तुष्टि जनाइन्। निर्वाचित भएर आएको अन्तिम वर्ष भएकोले आफ्नो माग पूरा हुनुपर्ने उनको भनाइ छ।

स्याङ्तालले आफू भोलि बजेट वक्तव्य सार्वजनिक गर्न नजाने समेत बताएकी छन्। उनले आफ्नो मागलाई अध्यक्षले नसमेटे बजेट वक्तव्य सार्वजनिक गर्न नजाने अडान सुनाइन्।

उपाध्यक्षले बजेट वक्तव्य सार्वजनिक गर्ने प्रावधान छ। उनले अध्यक्षले गाउँसभा पनि नियमित रुपमा नगरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्