बैजनाथ गाउँपालिकामा एकल पुरुषलाई पनि भत्ता


appharu

१० असार २०७८, बिहीबार ०७:११ मा प्रकाशित

बाँके ।
बाँकेको बैजनाथ गाउँपालिकाले ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिने भएको छ। त्यस्ता पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्ष मानबहादुर रुचाल ठकुरीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको हो।

यसैगरी उच्च शिक्षा पढ्न चाहने छात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराइनुका साथै शिक्षामा प्रविधि जोड्ने उद्देश्यले प्रधानाध्यापकलाई कम्प्युटर शिक्षा र ल्यापटप उपलब्ध गराउने, नमुना विद्यालय निर्माणको पूर्वाधार तयार गर्ने, शिक्षक अनुदान कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

कोरोना कहरबाट प्रभावित परिवार जसले कोभिड–१९ बाट ज्यान गुमायो, उनीहरुका परिवारलाई आर्थिक सहयोग गर्ने, प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने, निकुञ्ज परिसरमा हुने मानवीय क्षतिलाई विपदसरह मानेर राहत तथा क्षतिपूर्ति दिनेलगायत कार्यक्रम छन्।

प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पशु, पर्यटन घरेलु तथा साना उद्योग, सहकारी, बालबालिका, महिला, अपांगता, दलित आदिवासी जनजाति अल्पसंख्यक, ज्येष्ठ नागरिक युवा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, धर्म संस्कृति, शिक्षा, वन वातावरण तथा विपत् व्यवस्थापन, सार्वजनिक सेवा सुशासन तथा क्षमता विकास, विधायन तथा वित्तीय अनुशासनलगायतका महत्वपूर्ण क्षेत्र समेटेको छ।

गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा प्रस्तावित नीति तथा कार्यक्रमबारे असार ९ गते ३ बजेबाट दफाबार छलफल गरिने गरी तयारी भएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्