कोरोना संक्रमण रोक्न घरघर पुग्दै वडा अध्यक्ष बाँस्कोटा


appharu

५ श्रावण २०७८, मंगलवार ०९:१३ मा प्रकाशित

काठमाडौं ।
विवाह र मृत्यु संस्कारलगायतमा स्वास्थ्य मापदण्ड पालना नगरिँदा बागलुङ नगरपालिकामा कोरोना संक्रमण फेरि उकालो लागेको छ । त्यसलाई रोक्न जनप्रतिनिधिसहितको टोलीले सक्रियता बढाएको छ ।

बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले विभिन्न टोलमा स्वास्थ्यकर्मीको टिमसहित अनुगमन थालेकी छन् । उनी घरघरै पुगेर संक्रमितको हौसला बढाउनुका साथै जनचेतना बाँड्दै छिन् ।

उक्त वडाको खोलाखेत गाउँमा विवाह भोजबाट समुदायमा कोरोना संक्रमण फैलिएको थियो । बागलुङ बजारका नौबिसे टोल, नयाँ बजार, बुद्धचोक, आवा रोड, लोकतान्त्रिक चोक र धौलागिरि चोकमा पनि संक्रमण तीव्र पाइएको छ ।

वडाध्यक्ष बाँस्कोटा र नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनाल, स्वास्थ्यकर्मीहरू सुशील पौडेल, लक्ष्मण ढकालसहितको टोलीले सिम्ले, गहते, बोक्सेलगायत गाउँमा होम आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्नुका साथै उनीहरूसँग अन्य विभिन्न परामर्श गरेको छ ।

यी तीन गाउँमा गरी ३९ जना होम आइसोलेसनमा छन् । त्यस्तै झपिन डाँडामा ७ तथा खहरे र न्वारामा गरी १८ जना होम आइसोलेसनमा रहेको वडा कार्यालयले जनाएको छ ।

‘हामीले कोरोना रोकथाम र नियन्त्रणको प्रयास गरेका छौं तर नागरिक आफैं अनुशासनमा नबसेसम्म र स्वास्थ्य उपचारमा सहयोग नगरेसम्म कोरोनासँगको लडाइँ जित्न सजिलो छैन,’ वडाध्यक्ष बाँस्कोटाले भनिन् ।

गाउँभन्दा बजारका शिक्षित भनिएका नागरिकले कोरोना रोकथाम र उपचारमा सहयोग नगरेको उनको कटु अनुभव छ । उनका अनुसार सहरी क्षेत्रमा लक्षण देखिँदा पनि पीसीआर जाँच नगर्ने, सकेसम्म सम्पर्कमा आउन नचाहने, विवाह र मृत्युसंस्कारमा आवश्यक स्वास्थ्य मापदण्ड पालना नगर्नेजस्ता जटिल समस्या देखिएका छन् ।

‘विवाह, मृत्युसंस्कार गरिने घरमा मास्क नै नलगाईकन बढी मानिसको जमघट गर्दा कोरोना फैलिएको छ,’ उनले भनिन्, ‘कोरोनाको लक्षण देखिएका धेरै बिरामी पसलबाट आफैं औषधी ल्याएर खाने तर वडालाई खबर नगर्ने प्रवृत्ति छ ।’

टोलीका स्वास्थ्यकर्मीले स्थानीयको ज्वरो र रक्तचापलगायत परीक्षण गर्दै कोरोनाबाट बच्ने उपाय, खाने कुराका विषयमा जानकारी गराएको वडाध्यक्ष बाँस्कोटाले जानकारी दिइन् ।

समस्या जटिल भएपछि मात्र अस्पताल धाउँदा उक्त वडाका दुई संक्रमितको मृत्यु भएको थियो । धौलागिरि अस्पतालका अनुसार उनीहरू आउँदा अक्सिजन लेवल निकै कम भइसकेको थियो ।

तीमध्ये एक ज्येष्ठ नागरिक थिए । उनी अटेरी गर्दै घरमै बसिरहेकाले परिवार सदस्यले अन्तिम अवस्थामा मात्र अस्पताल लगेका थिए ।

जिप पार्कका एक जना तरकारी व्यवसायीले पनि रोग लुकाएर कुश्मा बजारबाट आफूखुशि औषधी खाएर अस्पताल ढिलो पुग्दा उनको अकालमा ज्यान गयो ।

होम आइसोलेसनमा बसेका व्यक्तिहरूको स्वास्थ्य जाँच गर्नु, गम्भीर बिरामीलाई तत्काल अस्पताल पु¥याएर उनीहरूको जीवनरक्षा गर्नु वडा कार्यालयको पहिलो प्राथमिकता भएको वडा सचिव भीमसेन पन्तले बताए ।

‘स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिहरूका बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको प्रयोग, पोसिलो खाने कुरा खान प्रेरित गर्ने काम भइरहेको छ,’ उनले भने ।

वडा कार्यालयले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूलाई स्वाब परीक्षण गर्न र गम्भीर समस्या देखिएकाहरूबारे तत्काल खबर गर्न स्थानीयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्