मायादेवी गाउँपालिकाको अब आफ्नै प्रशासकीय भवन


पालिका पत्र

२१ जेष्ठ २०८०, आईतवार १८:५२ मा प्रकाशित

कपिलवस्तु, जेठ २१ । कपिलवस्तुको मायादेवी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन बनेको छ । गाउँपालिकाको वडा नम्बर १ पकडीमा बनेको प्रशासकीय भवनको आइतबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

प्रशासनिक भवनको संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गरे । गाउँपालिकाको आफ्नै जग्गामा करिब साढे ३ करोड लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणका लागि जिल्ला समन्वय समिति र गाउँपालिकाको समपुरक कोषबाट निर्माण गरिएको जनाइएको छ ।

विगतमा भवन नहुँदा गाउँपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडा तिर्दै आएको थियो । १० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए ।

सेवा प्रवाहलाई प्रभावकारी र छिटो छरितो होस् भन्ने उद्देश्य सहित सुविधा सम्पन्न आफ्नै भवनबाट काम हुने बताइएको छ । प्रशासनिक भवनसँगै वडा नं १ को कार्यालय र सभाहलको समेत मन्त्री आर्चायले उद्घाटन गरे ।

कार्यक्रममा वोल्दै मन्त्री आर्चायले कार्यालय निर्माणसँगै गाउँंपालिकाले विकास र जनताका आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए । स्थानीय तह जनताको प्रत्यक्ष सरोकार राख्ने तह भएकाले दैनिक जिवनयापनका साथै भौतिक विकास र सामाजिक विकासमा समेत पालिकाले काम गर्नुपर्ने बताए ।

अब एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने गाउँंपालिकाका अध्यक्ष मुसलमानले बताए । साढे तीन तलाको भवन निमाणकोे ठेक्का अर्याल निर्माण सेवा, कपिलवस्तुले पाएको थियो ।

नयाँ भवनबाट अब दैनिक प्रशासनिक कामको शुरुवात हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले बताए । ‘३ ठाउँमा कर्मचारी हुँदा समस्या भएको थियो, अब भने सहज हुने भएको छ’, उनले भने ।

सो अवसरमा प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरी, पूर्व मन्त्री दानबहादुर चौधरी, पूर्व सांसद अतहर कमाल, पूर्व प्रदेश भौतिक पूर्वाधार मन्त्री शहसराम यादव, अन्तरिम सविधान सभा सदस्य रामलौटन तिवारी, जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्य, गाउँपालिकाका पूर्व उपाध्यक्ष गीतादेवी तिवारी, वडा अध्यक्ष शैलेन्द्रकुमार यादव लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्